सुर्खेत, ६ कार्तिक (जागरण)। वेवासिरे अवस्थामा छाडिएको वम विस्फोट हुँदा सुर्खेतमा दुई जना घाइते भएका छन् ।
वीरेन्द्रनगर–७ कटकुवा सामुदायिक वनमा घाँस दाउरा संकलन गर्ने क्रममा वेवारिसे वम विस्फोटहुँदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा वीरेन्द्रनगरका १४ वर्षीय नरेश नेपाली र गुराँस गाउँपालिका–६ दैलेखका २१ वर्षीय लिला परियार छन् ।
उनीहरुको देउती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि आँखा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।
मुखमा छर्रा लागेकाले नरेशको आँखा अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाले केही समय पहिले कटकुवा क्षेत्रमा अस्थायी तालिम सञ्चालन गरेकाले सो क्रममा वम छुटेको हुनसक्ने स्थानीयको आशंका छ ।
हरेक शनिवार सो सामुदायिक वन सार्वसाधारणका लागि खुला गरिने भएकोले उनीहरू घाँस दाउरा लिन गएको बेला वेवारिसे वममा दवाव भएपछि विस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ । तर घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।