सुर्खेत, ३ असार (जागरण) । सुर्खेतमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म जिल्लाभर सवारी दुर्घटनाका कारण ३५ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएअनुसार यस आर्थिक वर्षको ११ महिनामा ७८ सवारी दुर्घटनाबाट ३५ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको हो ।
कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सवारी दुुर्घटना बढेको हो ।
यो वर्षको ११ महिनामा ७० जना गम्भिर घाइते र २ सय ६० जना सामान्य घाइते समेत भएको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष ५१ सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको थियो ।
ट्राफिक प्रहरी कार्यालयले ११ महिनाको अवधिमा १२ हजार ८ सय २३ सवारी साधनलाई कार्वाही गरी ७६ लाख ४३ हजार पाँचसय राजश्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरिबहादुर विसीले जानकारी दिनुभयो ।
साँघुरो र कच्ची सडक, सवारी चालकले ट्राफिक नियमको पालाना नगर्नु र फुटपाथ व्यवस्थापन नहुनेलगायत समस्याका कारण सवारी दुर्घटना बढेको प्रमुख विसीको भनाई छ । सबैले ट्राफिक नियमको पालना गरे दुर्घटना न्युनिकरण गर्न सकिने उहाँले बताउनुभयो ।
सुर्खेतमा सबै भन्दा अटो रिक्साको समस्या भएको पनि प्रमुख बीसीको भनाई छ । अटो रिक्साको नियमन गरिदिने निकाय नहुँदा लाइसेन्स नलिएर अटो चलाउँदा दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अहिले सुर्खेतमा ११ सय अटो रिक्सा रहेका छन् । उहाँले जनशक्तिको अभाव हुँदा पनि ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनुभयो । उहाँले जनशक्तिको अभाव हुँदा पनि ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनुभयो । जिल्ला भर २८ जना मात्र खटिएकोको उहाँको भनाई छ ।