सल्यान जीप दुर्घटनाः घाइते ८ जनामध्य एकजनाको मृत्यु

शंकर केसी ।
सल्यान, ७ कार्तिक (रेडियो कपुरकोट)
सल्यानको कपुरकोटमा जीप दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा बागचौर नगरपालिका निवासी १८ वर्षीय आशिष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
आज विहान भे १ च १८९० नम्बरको बोलेरो जिप कपुरकोट–३ स्थित बनस्पति उद्यान नजिकै दुर्घटनामा परेको थियो । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
दुर्घटनामा ७ जना घाइते भएका छन । प्रहरीका अनुसार घाइते हुनेहरुमा बागचौर नगरपालिका वडा न १ सल्यान निवासी २२ वर्षिय मनोज वस्नेत, बागचौर नगरपालिका २ का अन्दाजी २७ वर्षिय सिता ओली, २८ वर्षिय बविता रावल र उनको ११ वर्षिया छोरी एसिका रेउले तथा गाडी चालक बागचौर नगरपालिका २ का १९ वर्षिय हिक्मत पुन मगर रहेका छन ।
यस्तै बागचौर नगरपालिका २ कै १९ वर्षिय अर्जुन केसी रहेका छन । उनको अवस्था सामान्य छ । घाइते अन्य ६ जनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
क्षमताभन्दा बढी मानिस भएका कारण जिप दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।