जाजरकोटका गाम्रीण सडकमा चल्ने सवारी साधनमा मनपरी भाडा

कालि बहादुर नेपाली ।
जाजरकोट, ९ कात्तिक (जागरण) । जाजरकोटका गाम्रीण सडकमा चल्ने सवारी साधनहरुमा मनपरी भाडा असुल्दा यात्रुहरु मर्कामा परेका छन् ।
अधिकांश स्थानीय तहले निर्माण गरेका सडक खण्डहरुमा निजी यातायातहरुले चर्काे भाडा लिएपछि यात्रुहरु मर्कामा परेका हुन् । स्थानीय तहले निर्माण गरेका नयाँ सडकमा रुट परमिट समेत लागु गरिएको छैन ।
प्रशासनले तोकेको भन्दा बाहिर रहेर मनपरी भाडा असुल्दै आएको यात्रुहरुले गुनासो गरेका छन् ।
बारेकोट गाउँपालिका २ का स्थानीय भीमबहादुर नेपालीले यात्रुहरु बाट मनपरी भाडा असुल्ने गरिएको भन्दै क्षमता भन्दा दोब्बर यात्रु राख्ने समेत गरिएको बताउनुभयो ।
जबरजस्ती यात्रा गराउने गरिएको भन्दै बारेकोट ४ का स्थानीय तिलक रावतले यसतर्फ सरोकारवाला निकायको वेवास्ता गरेको गुनासो गर्नुभयो ।
सदरमुकाम खलंगा देखि बारेकोट गाउँपालिकाको केन्द्र लिम्सा सम्म पुग्न १ हजार ५ सय भन्दा बढी भाडा तिर्न यात्रुहरु बाध्य छन् ।
रुटपरमिट लागु भएका सडकमा जिल्ला प्रशासन कार्यालयले भाडा निर्धारण गरेको भएपनि ग्रामीण क्षेत्रमा भने भाडादर लागु भएको छैन ।
यस्तै, कुशे गाउँपालिकाका नागरिकलाई पनि यस्तै सास्ती छ । खलंगा देखि पाँचकाटिया सडक खण्डमा जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्धारण गरेको भाडाडर तिरे पनि पाँचकाटिया देखि गाउँपालिकाको केन्द्रसम्म निजी जीपहरुले मनपरी भाडा असुल्ने गरेको स्थानीय नागरिकले गुनासो गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले यस विषयमा थप अनुगमन गरिने भन्दै सरोकारवालासँगको बैठक राखेर कारवाही पक्रिया अगाडी बढाइने जानकारी दिनुभएको छ ।