जागरण
सुर्खेत, १० कात्तिक ।
कर्णाली प्रदेशका अधिकांश मानिसको मुख्य पेशा कृषि तथा पशुपालन हो । प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको ३२ दशमलव ९ प्रतिशत योगदान रहेको छ । जुन कुलग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान दिनेमा दोस्रो क्षेत्र हो । प्रदेश सरकारले कृषि क्षेत्र र त्यसमा पनि पशु पालनबाट आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्यका साथ यस क्षेत्रमा विभिन्न कार्यक्रम अघि सारेको छ ।
त्यसै अन्तर्गत प्रदेशका ७९ वटै पालिकामा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । पशुपंक्षी विकास निर्देशनालय र जिल्लास्थित पशु पंक्षि विकास कार्यालयहरुले चालु आर्थिक बर्षभित्रमा प्रदेशका दशवटै जिल्लाका सबै पालिकामा कम्तिमा एक वटा पशु स्वास्थ्य शिविर सञ्चालन गरिने निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले बताउनुभयो ।
पशुपालनको राम्रो संभावना भएपनि कर्णाली कृषकहरुले भनेअनुसार सेवा पाउन सकेका छैनन् । जनशक्ति अभाव हुँदा आवश्यकता अनुसार पशु उपचार सेवा दिन नसकेको निमित्त निर्देशक गिरीको भनाइ छ ।
शिविरमा बाह्य तथा आन्तरिक परजिवि नियन्त्रणका लागि उपचार गरिने निर्देशनालयले जनाएको छ । भेडा बाख्रा, गाई भैंसी, घोडा, चौरी लगायतगरी प्रदेशभर करिब ४० लाख घरपालुवा पशु रहेको निर्देशनालयको अनुमानित तथ्यांक छ । कर्णाली प्रदेशमा विशेषगरी पिपिआर, खोरेत, थुनुलो, लम्पी स्किन लगायतका रोगहरु पशुमा समस्याका रुपमा रहेको छ । जसले गर्दा उत्पादनमा समेत ह्रास आउनसक्ने प्रदेश पशु पंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक कृष्णराज पाण्डेले बताउनुभयो ।
आर्थिक स्थिति सुधार गर्न सहयोग पुग्ने प्रचुर संभावना क्षेत्र पशुपालन पनि हो । पछिल्लो समय कृषकहरु व्यवसायिक पशुपालनमा समेत आकर्षित भएपनि सरकारले पशु उपचार लगायतका सुविधाहरु पु¥याउन सकेको छैन ।
यसैबीच मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । निर्देशनालयको हाताभित्र सञ्चालन गरिएको शिविरको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा किसनलाल भट्टले उद्घाटन गर्नुभएको थियो । शिविरमा करिब ११ सय पशुहरुको उपचार गरिएको निर्देशनालयले जनाएको छ ।