वीरेन्द्रनगरमा अन्नपूर्ण ब्याडमिन्टन छनोट प्रतियोगिता सुरु

सुर्खेत, ३ असार (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा अन्नपूर्ण पोस्ट अन्तर्रा्ष्ट्रिय कर्पोरेट ब्याडमिन्टन छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा आजदेखि प्रतियोगिता सुरु भएको हो । पत्रकारितालाई बहुआयामिक बनाउँदै स्वस्थ नागरिक उत्पादन गर्ने र खेलक्षेत्रका प्रतिभालाई जागरुक बनाउने उद्देश्यका प्रतियोगिता आयोजना गरिएको हो ।
तीन दिनसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अनुशासित र स्वस्थ समाज निर्माणका लागि खेलकुद आवश्यक रहेको बताउनुभयो ।
खेलाडीको स्तरियता र भौतिक पूर्वाधार निर्माणमा सबैभन्दा पछि परेको कर्णालीको खेल क्षेत्रको विकासलाईसरकारले प्राथमिकतामा राखेको मन्त्री रावलको भनाइ छ ।
सोही अवसरमा उहाँले प्रदेश स्तरीय रंगशाला निर्माणको प्रक्रिया अगाडि बढिसकेको पनि उल्लेख गर्नुभयो ।
अन्नपूर्ण पोष्टका मध्य तथा सूदुरपश्चिमाञ्चल क्षेत्रीय प्रमुख प्रेम केसीले मिडिया हाउसले समाचार उत्पादन मात्रै नभई प्राथमिकतामा परेका विषयको भौतिक रुपमा नै विकास गर्न प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो ।
विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगिता आगामी दिनमा झन् उत्कृष्ट बनाउँदै लैजाने केसीले बताउनुभयो ।
प्रतियोगितामा सात जिल्लाका एकसय २८ जना खेलाडीहरुको सहभागिता रहेको छ । दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, रुकुम, सल्यान र हुम्लाका खेलाडीहरु छनोट प्रतियोगितामा सहभागीता जनाएका छन् । प्रतियोगितामा पुरुष युगल ३९ र एकल २२ वटा खेल हुनेछन् । यस्तै, मिस्क युगल चारवटा, १९ वर्ष मुनिका पुरुष १२ वटा, केटी चार वटा र महिला एकल चारवटा खेल हुनेछन् । प्रदेश स्तरबाट छानिएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् ।