कर्णाली प्रदेश सरकाको चालु बर्षको तिन महिनाको बजेट कार्यान्वयन २.२३ प्रतिशत मात्रै

सुर्खेत, ११ कात्तिक (जागरण) । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा पुँजीगत तर्फको २.२३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
अर्थिक वर्ष २०७८÷०७९ को जम्मा ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेटमध्ये प्रदेश सरकारले असोज मसान्तसम्म पुंजीगततर्फ २.२३ प्रतिशत अर्थात् ४८ करोड ३१ लाख र चालु तर्फ ५.९७ प्रतिशत अर्थात ८८ करोड ८७ लाख रुपैयाँ खर्च गरेको हो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा कुल बजेटको ३.७५ प्रतिशत अर्थात १ अर्ब ३७ करोड १८ लाख रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक बर्षको तीन महिना अर्थात असोज मसान्तसम्म प्रदेश व्यवस्थापिकाले विनियोजित रकमको १३.४९ प्रतिशत, प्रदेश लोकसेवा आयोगले ६.९९ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १५.४४ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ०.६६ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले १६.०६ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जम्मा ०.५ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यसैगरी जलश्रोत तथा उर्जा विकास मन्त्रालयले ०.५२ प्रतिशत, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३.९३ प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ०.७४ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले २.५८ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ८.२५ प्रतिशत र कर्णाली प्रदेश योजना आयोगले जम्मा ८.२५ प्रतिशत बजेट खर्च गरेका छन् ।