काँक्रेविहार संरक्षित वन क्षेत्रमा संरचना निर्माण गलत भएको भन्दै स्थानीयको विरोध

सुर्खेत, ११ कात्तिक (जागरण) । सुर्खेतको वीरेन्द्रनगरस्थित ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रमा संरचना निर्माण गलत भएको भन्दै स्थानीयले विरोध जनाएका छन ।
संरक्षिण क्षेत्र घेरबारका लागि पर्खाल लगाउने काम सुरू भएपछि विवाद शुरु भएको हो ।
स्थानीयले निर्माणाधिन पर्खाल काँक्रेविहारको साँध–सीमाना छोडर भित्र पर्ने गरी लगाइएको आरोप लगाएका छन् ।
सीमानाभन्दा करिब ५–७ मिटरभित्र वनको जग्गा छोडेर पर्खाल निर्माण गरिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
संरक्षित क्षेत्रको जग्गा छोडेर पर्खाल लगाइँदा त्यहाँ अतिक्रमण हुने जोखिम बढेको स्थानीयको तर्क छ । केही दिनयता पर्खाल निर्माणको काम प्रभावित बनेको छ ।
काँक्रेविहार क्षेत्र आसपासका नागरिकहरूले संरक्षित क्षेत्रको पुरै जमिनभित्र पारेर मात्र पर्खाल बनाइनुपर्ने स्थानिय मनिराम पुरीले माग गर्नुभयो ।
वन ऐन अनुसार वनको जग्गा संरक्षित क्षेत्रकै मातहतमा हुनुपर्ने आफुहरुको माग रहेको अर्का स्थानीय रणबहादुर रानाको भनाई छ ।
स्थानिय जनप्रतिनिधिले चासो नदिदाँ काठ तस्करी पनि हुने गरेको अर्का स्थानिय बसन्त गिरीको भनाई छ ।
यही विवादले चर्को रूप लिँदा अदालतमा रिट समेत परेको थियो । उच्च अदालत सुुर्खेतले रिटमाथि सुनुवाइ गर्दै निर्माणको काम रोक्न आदेश दिइसकेको छ । निर्माण कार्य रिट निवेदनको टुंगो नलाग्दासम्म नगर्नू, नगराउनू भनि अन्तरिम आदेश जारी भएको छ ।