गठबन्धनमा छलफपछि कर्णाली सरकार परिवर्तन टुङ्गो लाग्छः माओवादी (केन्द्र)

सुर्खेत, १२ कात्तिक (जागरण) । माओवादी केन्द्रले सत्ता गठबन्धनमा आवद्ध दलसँगको छलफलपपिछ कर्णाली प्रदेश सरकार परिवर्तन हुने वा नहुने टुङ्गो लाग्ने बताएको छ ।
केन्द्रमा बनेको पाँच दलिय गठबन्धनबिचमा सहमती भएपछि मात्रै कर्णालीमा मुख्यमन्त्री परिवर्तन हुने वा नहुने टुङ्गो लाग्ने बताएको छ ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेतले सत्ता गगठबन्धनमा छलफल गरेर कर्णाली प्रदेश सरकारको टुंगो लगाउने बताउनुभएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तत्कालीन अवस्थामा अल्पमतमा परेपछि कांग्रेससँग भागबन्डा गर्ने सहमति भएको बस्नेतले स्वीकार गर्नुभयो । तर, अहिले परिस्थिति फेरिएकाले सातै प्रदेशका सरकारका विषयमा एकमुस्ट सहमति गरिने बस्नेतको भनाई छ ।
कांग्रेससहित पाँच दलीय गठबन्धन बनेपछि सातै प्रदेशका सरकारका विषयमा गठबन्धनमा छलफल गरेर टुंगो लगाउनु पर्ने अवस्था आएको उहाको भनाई छ ।
तर, नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीले भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी कात्तिक १५ गतेभित्र राजीनामा दिएर सत्ता हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
यसअघि कांग्रेस र माओवादी केन्द्रबीच कात्तिक १५ गतेसम्म सत्ता छोड्ने सहमति भएकाले राजीनामा दिन दबाब बढिरहेको छ ।
माओवादीले कात्तिक १५ गतेभित्र सत्ता नछोडे सरकारलाई दिएको समर्थन फिर्ता लिने काग्रेस सांसदहरुले चेतावनी दिइसकेका छन् ।