सुर्खेत, १३ कात्तिक (जागरण) । कर्णालीका अधिकांस स्थानीय तहहरुले चालु आर्थिक बर्षको बजेट कार्यान्वयन अझै शुरु गर्न नसकेको पाइएको छ ।
केही समय बजेट होलिडेको कारण बजेट कार्यान्वयन शुरु नभएको स्थानीय तहहरुले प्रतिक्रिया दिएका छन ।
प्रदेशका सबै जसो पालिकाले कोभिड–१९ रोकथाम, विदेशबाट फर्किएका युवाहरुलाई रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याका छन । तर केही स्थानीय तह बाहेक अधिकांसले बजेट कार्यान्वयनमा लिन नसकेका हुन ।
साउनदेखि नै बजेट कार्यान्वयनमा ल्याउनु पर्ने भएपनि अधिकांस स्थानीय तहहरुले बजेट होलिडेको कारण देखाउदै केही ढिला भएको बताएका छन् ।
कर्णाली रैबारसँग कुराकानी गर्दै सुर्खेतको लेकवेशी नगरपालिका प्रमुख गगन सिं सुनारले स्थानीय, प्रदेश र संघ सरकारबाट छुट्याइएका सबै योजनाहरुको सम्झौताको काम भइसकेको र अब कार्यान्वयन शुरु भएको बताउनुभयो ।
यस्तै दैलेखको भगवतीमाई गाउँपालिकाले पनि बजेट कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष दान बहादुर थापाले उपभोक्ता समीती गठन गर्ने, उनीहरुलाई तालिम दिने र कामको सम्झौत गर्ने प्रक्रिया भइरहेको बताउनुभयो ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले गत वर्ष कोरोना संक्रमणका कारण केही योजना कार्यान्वयन गर्न समस्या भएको भन्दै यो आर्थिक वर्ष समयमै बजेट कार्यान्वयन गर्न थालेको छ ।
नगर प्रमुख देविलाल गौतमका अनूसार प्रदेश र संघीय सरकारको अनुदानसहित मिलाएर नगरपालिकाले बजेट कार्यान्वयन शुरु गरेको छ ।
उहाँले नगरपालिकामा हुने सबै योजनाहरुको कार्तिक १५ भित्र सम्झौता गरीसक्नेगरी काम भइरहेको बताउनुभयो ।
यस्तै, डोल्पाको ठूली भेरी नगरपालिकाले भने अहिले सम्म बजेट कार्यान्वयनको प्रक्रिया शुरु गर्न सकोको छैन् ।
उप–प्रमुख योगेन्द्र बहादुर शाहीको अनूसार नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखापाललगायतका सबै कर्मचारी संघिय राजधानी काठमाडौँबाट नफर्किदा बजेट कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।
कर्णालीमा गत बर्ष पनि समयमै बजेट कार्यान्वयन गर्न नसक्दा अधिकांस स्थानीय तहको बजेट फ्रिज भएको थियो ।