आयआर्जनका कार्यक्रमबाट युवाहरुलाई स्वरोजगार बनाउँदै कर्णाली सरकार

सुर्खेत, १४ कात्तिक (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेशका युवा तथा विपन्न नागरिकहरुलाई विभिन्न आयाआर्जनका कार्यक्रम संचालन गरेर स्वरोजगार बनाउने भएको छ ।
प्रदेश सकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत उक्त कार्यक्रम संचालन गरिएको प्रदेश सरकारले जनाएको छ ।
विशेषगरी रोजगारी सिर्जना गर्नेगरी मुख्यमन्त्री रोजगार कार्यक्रम र स्वःआर्जन कार्यक्रम बनाएर गाउँ गाउँमा लागु गर्न लागिएको हो ।
आयआर्जनका लागि सबै नागरिकलाई श्रम मूलक कार्यक्रमलाई बढी प्राथमिकता दिइएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जनाएको छ ।
प्रदेश सरकारले विभिन्न विषयगत मन्त्रालयबाट आयाआर्जन मूलक तथा स्वरोजगारका कार्यत्रक्रम संचालन भइरहेको बताएको छ ।
मुख्यमन्त्री कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले मुख्यमन्त्री रोजगार कार्यक्रम, महिला स्वरोजगार कार्यक्रम, दलित महिला आयआर्जन कार्यक्रम सबै नागरिकको नवीनतम ज्ञान, सीप, प्रविधि तथा उद्धमशिलताका कार्यक्रम अहिले संचालन भएको बताउनुभयो ।
उहाले भन्नुभयो, ‘प्रदेशका बेरोजगार युवा जसलाई ज्ञान सीपको आवश्यकता छ, सँगै विपन्न वर्गहरु हुनुहुन्छ उहाँहरुलाई लक्षित गरेर आयआर्जनका कार्यक्रम लागु गरिएको हो ।’
कर्णाली प्रदेश सरकारले प्रत्येक वर्ष बेरोजगार नागरिकलाई क्षमता विकास गरी दक्ष र उद्यमशील बनाई उत्पादनशील क्षेत्रमा जोड्नको लागि एक अरब ५० करोडको हाराहारीमा बजेट खर्च गर्दै आएको प्रवक्ता उपाध्यायलको भनाइ छ ।
उहाका अनूसार चालु आर्थिक बर्षमा पनि प्रदेशका ७ सय १८ वटै वडामा एक वडा एक स्वरोजगार कार्यक्रमलाई जोडेको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सकारले करिब ४ अरब बजेट विभन्न स्वरोजगार मूलक कार्यक्रममा छुट्इएको उनले जानकारी दिनुभयो ।
कोभिडको महामारीका कारण रोजगारी गुमाएका र बेरोजगारलाई लक्षित गरी आत्मनिर्भरता एवं रोजगारीका अवसर सृजना गर्न आयआर्जनका कार्यक्रमलाई थप परिमार्जन गरी निरन्तरता दिइएको छ ।
सरकारले कृषि र उद्योग क्षेत्रमा उद्यमशीलता विकास गरी स्वरोजगारी सृजना गर्न र सबै जनशक्तिलाई तोकिएको मापदण्डका आधारमा श्रम सहकारी मार्फत सहुलियतपूर्ण कर्जा र व्याज अनुदान दिने व्यवस्था गरिएको मिलाइएको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।