भारी हिमपातका कारण लिमीका नागरिक गाउँमै थुनिए

जनक बहादुर शाही ।
हुम्ला, १५ कात्तिक (रेडियो कैलास) । भारी हिमपातका कारण हुम्ला नाम्खा–६ लिमीका नागरिक गाउँमै थुनिएका छन् । यो वर्ष स्थानीयले गाउँ नछाड्दै हिमपात भएपछि लिमी प्राकृतिक रूपमा सिल भएको हो ।
हिमपातले सबै बाटो पुरिएपछि बस्ती–बस्तीबीचको आवागमन ठप्प भएको छ । एक साताअघि हिमपात हुँदा लिमीका जाङ, हल्जी र तिलगाउँमा करिब ३ फिटसम्म हिउँ जमेको छ ।
तीनवटै गाउँमा एक÷एकवटा भिस्याट फोन छन् । तर गाउँबाट बाहिर फोन गर्दा लाग्ने भए पनि बाहिरबाट गर्दा सम्पर्क नै हुँदैन । गाउँ जाने सबै बाटो बन्द भएपछि लिमीमा आउजाउ गर्न र खाद्यान्न पु¥याउन समस्या भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो ।
तीनवटै गाउँमा फोन नै नलागेको भन्दै अध्यक्ष लामाले हिउँले बाक्लो परेपछि गाउँ नै सिलबन्दीमा परेको बताउनुभयो ।
करिब ५ हजार मिटर उचाइका दुवै लेकमा कम्तीमा ४ फिट हिउँ परेकाले बाटो पुरिएका हुन् ।
लिमीबाट गाउँपालिकाको केन्द्र यलबाङ पुग्न २ दिन र सदरमुकाम सिमकोट पुग्न ५ दिनको पैदल दूरी छ ।
दुवै लेकमा डोजर लगाएर हिउँ पन्छाउन इन्धन अभावले समस्या भएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
हिउँदको समयमा लिमीका बासिन्दाले हिउँ नपर्दै गाउँ छोडेर बेसीतिर अस्थायी बसाइ सरेर आउने गर्थे । तर यो बर्ष गाउँ छोड्ने तयारी गर्दैगर्दा भारी हिमपात भएपछि नागरिक घरभित्रै थनिएका हुन ।
यस्तै, चीन सरकारले नाम्खा गाउँपालिकाका बासिन्दालाई अनुदानमा उपलब्ध गराएको ३ सय ५० क्विन्टल मैदा र १ सय क्विन्टल चामल हिमपातका कारण हिल्सामै थन्किएको छ । नेपाल–चीन सीमाको हिल्सामा झन्डै ४ फिट हिउँ परेपछि खाद्यान्न ढुवानी रोकिएको हो ।