कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले दाबी पेश गर्दै

सुर्खेत, १६ कात्तिक (जागरण) । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि आज नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्दै हुनुहुन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीचको सहमतिअनुसार काङ्ग्रेस संसदीय दलका नेता शाही नयाँ मुख्यमन्त्री बन्न लाग्नुभएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो (सोमबार) साँझ साढे ७ बजे नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष राजीनामा दिनुभएको थियो । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले हिजै नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न २४ घन्टाको समय दिएर प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको थियो ।
प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ साढे ७ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
२०७४ फागुन ३ मा मुख्यमन्त्री नियुक्त महेन्द्रबहादुर शाहीले गत वैशाखमा विश्वासको मत लिनेक्रममा नेपाली काङ्ग्रेससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको जारी प्रेस वक्तव्यमा उल्लेख छ । प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको काङ्ग्रेस त्यही सहमतिअनुसार पहिलोपटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो ।
कर्णाली प्रदेशसभामा माओवादीका १२, काङ्ग्रेसका छ र एकीकृत समाजवादीका तीन सांसद छन् । यो सरकार गठनका लागि प्रयाप्त बहुमत हो ।