कर्णालीको मुख्यमन्त्रीमा जीवन शाही पक्का, आजै सपथग्रहण हुने

जागरण

सुर्खेत, १६ कात्तिक ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काग्रेस कर्णाली प्रदेश सांसदीय दलका नेता जीवन बहादुर शाही नियुक्त हुने पक्का भएको छ । सरकार गठनका लागि १८ सांसद आवश्यक पर्नेमा २१ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबि पेश गरेपछि शाही मुख्यमन्त्रीमा नियुक्त हुने निश्चित जस्तै भएको हो ।
शाहीले २१ जना सांसदको समर्थनसहित आज दिउसो शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष दाबी पेस गर्नुभएकाे छ । उहाँलाई नेपाली कांग्रेसका ६ सहित माओवादी केन्द्रका १२ र नेकपा एकीकृत समाजवादीका ३ जना सांसदले समर्थन गरेका छन् ।
सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कलौनीले आज साँझ ७ः३० बजेभित्र बहुमतसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गर्नुभएकाे थियाे । बहुमत सांसदको सर्मथनसहित दाबि पेश भएपछि प्रदेश प्रमुखको कार्यालयले आजै सपथ ग्रहणको तयारी गरेको छ । वेलुका साढे सात बजेसम्म कसैको दाबि पेश नभए आजै राती साढे ८ बजे सपथ ग्रहण गराउने गरी तयारी भैरहेको प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले जानकारी दिनुभयाे ।
४० सदस्यीय प्रदेशसभामा हाल ३५ सदस्य छन् । ३५ मध्ये १८ जना सांसदको समर्थन भए सरकार गठनका लागि बहुमत पुग्छ । शाहीले २१ सांसदको समर्थनसहित दाबि पेश गरेकाले उहाँ नै मुख्यमन्त्री नियुक्त हुने निश्चित जस्तै छ । प्रदेशसभामा हाल एमालेको सभामुखसहित १३ र राप्रपाका १ जना सांसद रहेका छन् ।