कर्णालीकाे मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त


जागरण
सुर्खेत, १६ कात्तिक ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काग्रेस कर्णाली प्रदेश सांसदीय दलका नेता जीवन बहादुर शाही नियुक्त भएका हुनुभएकाे छ । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सरकार गठनका लागि दिएको समय भित्र शाहीको मात्रै दाबि पेश भएपछि उहाँ मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे । नव नियुक्त मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुखले मंगलबार राती ९ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएकाे छ ।सरकार गठनका लागि १८ सांसद आवश्यक पर्नेमा शाहीले २१ सांसदको समर्थनसहिते प्रदेश प्रमुख समक्ष दाबि प्रस्तुत गर्नुभएकाे थियाे ।  उहाँलाई नेपाली कांग्रेसका ६ सहित माओवादी केन्द्रका १२ र नेकपा एकीकृत समाजवादीका ३ जना सांसदले समर्थन गरेका छन् ।
सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ ७ः३० बजेभित्र बहुमतसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गर्नुभएकाे थियाे ।
नव नियुक्त मुख्यमन्त्री शाही एक्लैले सपथ गरेका छन भने अरु मन्त्री नियुक्त भएका छैनन् । सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीबीच मन्त्रालयको भागबण्डाको टुङ्गो नलागेका कारण मुख्य मन्त्री एक्लैले सपथ ग्रहण लिएको चर्चा रहेको छ ।