कर्णाली करिडोर चालु आर्थिक बर्षबाटै संचालन ल्याउने तयारी, अब दश किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी

सुर्खेत, १७ कात्तिक । (जागरण) । उत्तर दक्षिण करिडोर अन्तरगतको कर्णाली करिडोर चालु आर्थिक बर्षबाटै संचालन ल्याउने तयारी भएको छ ।
जम्मा १ सय ४५ किलोमिटर लम्बाइको करिडोरको एक सउ ३५ किलोमिटर ट्रयाक खोलि सकिएको छ । अब बाँकी १० किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेको कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ ।
हिमाली जिल्ला भएकाले हिउँदमा काम गर्न कठीन भएको योजनाले जानकारी दिएको छ । कठीन भूगोलका कारण सडक विभागले सात किमी सडकको ट्रयाक खोल्ने जिम्मा सेनालाई दिएको छ । अब तिहारलगत्तै काम सुरु हुने जनाइएको छ ।
करिडोरमा यो बर्ष भित्र पाँच वटा पुल निर्माणका लागि ठेक्का प्रक्रिया शुरु गर्ने समेत तयारी गरिएको छ ।
हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आर्थिक बर्षमा पाँच पुल ठेक्का गरिने हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ ।
हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताउनुभयो ।
पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङगार पुल निर्माण गर्न लागिएको हो । उनले भने, ‘यी पुल बनेपछि पनि स्थानीयवासीलाई आवतजावतमा सजिलो हुनेछ ।’ यसअघि नै खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा दुई बेलिब्रिज राख्नका लागि ठेक्का भई सम्झौता भइसकेको छ । तत्काल पुल आवश्यक भएकामा बेलिब्रिज राखिने भए पनि कर्णाली नदीको वहाब कम नभएसम्म राख्न नसकिने प्रमुख लामाले बताउनुभयो ।

नदीको सतह घट्नासाथ मङ्सिरको पहिलो सातासम्म बेलिब्रिज निर्माणस्थल पु¥याउने लक्ष्य लिइएको छ । करिडोरमा निर्माण गर्नुपर्ने स्याम्ने, लाली, सुनाखडा, गोठी, न्यासी र सरिसल्ला पुलका लागि समेत बजेट विनियोजन भइसकेको छ ।
सरिसल्लाको कर्णाली नदीमा पक्की पुल नबनेसम्म फेरि गाडी वारपार गर्ने डुङ्गा समेत राखेर यातायात सञ्चालन गरिने प्रमुख लामाले बताउनुभयो ।
करिडोर निर्माणपछि हुम्ला जिल्ला सडक सञ्जालमा जोडिने छ । कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले समेत सबै ठाउँमा सडक सञ्जाल पुर्याएर युवाहरुलाई उत्पादनमा जोडिने बताइसकेका छन । उहाले कोसी जागरणसँगको कुराकानीमा हुम्ला सँगै अन्य जिल्लाका विभिन्न भागमा सडक सञ्जालमा नागरिकलाई जोडी गरिबी कम गर्ने आफ्नो प्रथामिकता रहेको बताउनुभएको हो ।