११ बजेर २ मिनेटमा भाई टिकाको उत्तम साइत

जागरण ।
सुर्खेत, २० कातिक ।

तिहारको पाँचौं दिन अर्थात् आज भाइटीका । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो ।
यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसपछि दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने तर राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
यमपञ्चकको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिने तथा सकेसम्म उपहार दिने प्रचलन रहेको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाइदिने र दक्षिणा तथा उपहार दिने प्रचलन रहेको छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।