सुर्खेत, २४ कात्तिक (जागरण) । सरकारले कर्णाली प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । केन्द्र सरकार मन्त्रीपरिषद् बैठकले कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाइ हटाएर तिलक परियारलाइ नियुक्त गर्ने निर्णय गरेको हो ।
कर्णालीसहित प्रदेश १ र सदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय सरकारले गरेको छ । बैठकले प्रदेश १ मा पर्शुराम खापुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिसगरेको छ ।
खापुङ जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका हुन् भने परियार माओवादी केन्द्रबाट । जोशी नेपाली कांग्रेसका पूर्व सांसद पनि हुन् ।
सरकारको शिफारिसमा आजै राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुखहरुलाई नियुक्त गरिसक्नुभएको छ ।
यसैबिच, कर्णाली प्रदेशमा ४ वर्षको अवधिमा ३ जना प्रदेश प्रमुख फेरिएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कर्णालीमा ३ माघ २०७४ मा दुर्गाकेशर खनाललाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिइएको थियो ।
त्यसपछि नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकताबीच केपी शर्मा ओली प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री भएपछि तत्कालिन प्रदेश प्रमुख हटाएर २०७६ सालमा गोविन्दप्रसाद कलौनीलाई प्रदेश प्रमुखमा नियुक्त गरियो ।फेरि कलौनीलाई हटाएर देउवा सरकारले सोमबार बसेको तिलक परियारलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।