गोविन्द खत्री ।
सुर्खेत, २५ कात्तिक (जागरण) । कर्णालीको मुख्यमन्त्रिमा जीवनबहादुर शाही नियुक्त भएको दश दिनसम्म पनि मन्त्रिपरिषद् विस्तारको कुनै सुरसार देखिएको छैन ।
शाहीले अहिलेसम्म मुख्यमन्त्रीसहित प्रदेश सरकार अन्य सात मन्त्रालय एक्लै सम्हालिरहनुभएको छ । तर मन्त्री बाँडफाँडका विषयमा गठबन्धनका दलहरुबीच कुनै पनि औपचारिक छलफल भएको छैन ।
नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता शाहीले गत कात्तिक १६ गते मुख्यमन्त्रीको सपथ ग्रहण गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा उहा मुख्यमन्त्री बन्नुभएको हो । तर गठबन्धनमा कुन दलले कती मन्त्रालय पाउने भन्ने भागबण्डा नमिल्दा शाहीले एकल सरकार चलाइरहनुभएको छ ।
गठबन्धनमा सबै भन्दा ठूलो दल माओवादी केन्द्रले चार, समाजवादीले ३ र काँग्रेसले मुख्यमन्त्रीसहित अन्य दुई मन्त्रालय पाउनुपर्ने आ–आफ्नै दाबी गरेका छन ।
दाबी गरे अनुसार मुख्यमन्त्रीसहित दश मन्त्रालय आवश्यक पर्दथ्यो तर मन्त्रालयको संख्या भने मुख्यमन्त्रीसहित आठ मात्र छ ।
जसले गर्दा गठबन्धनमा मन्त्रालय भागबण्डाको विषय पेचिलो बनेको छ । अहिलेसम्म कसले कति मन्त्रालय पाउने भन्ने विषयमा नै कुरा नमिलेकोमा संख्यामा भागबण्डा मिलेपछि ‘मालदार’ मन्त्रालय कसले पाउने भन्ने विषय झनै पेचिलो बन्ने देखिएको छ ।
यता, मुख्यमन्त्री शाहीले भने केही दिनमै मन्त्री परिषद विस्तार हुने दाबी गर्नुभएको छ । कर्णाली रैबारसँग कुराकानी गर्दै उहाले यस्तो दाबी गर्नुभएको हो । मुख्यमन्त्री शाहीसँग गरिएको कुराकानी सुन्नुहोस् अडियोमा ।