सुर्खेत, २५ कात्तिक (जागरण) । १२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु गरिएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार आजदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिएका छन । उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न साध्ने छन ।
एक परिवारमा औसतः एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिए । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८ हजार ५ सय जना सुपरीवेक्षक खटिएका छन् ।
उनीहरुलाइ दिने सबै प्रकारको तालिम पूरा भएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, राष्ट्रिय जनगणना– २०७८ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गरिने भएको छ ।
तथ्याङ विभागले पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने जनाएको छ ।
विभागले अनुमानसहितको नतिजा प्रकाशित गर्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।
उक्त क्षेत्रमा जनगणनाको लागि परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसैबिच, कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवन बहादुर शाहीको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिएको छ ।
विहान ८ बजे मुख्यमन्त्री शाहीको निवासमा औपचारिक कार्यक्रममार्फत जनगणना प्रारम्भ भएको हो ।
मुख्यमन्त्री शाहीको विवरण संकलनपछि गणकहरुद्वारा वीरेन्द्रनगर बजार परिसरमा प्रभातफेरी कार्यक्रम समेत गरिएको छ ।