जागरण
सुर्खेत, २५ कात्तिक ।
समाजसेवी जयन्ती थापाले आप्mनी छोरीको जन्म दिनको अवसर पारेर एक विद्यालयलाई सहयोग गर्नुभएको छ ।
छोरी सुजन चन्दको जन्म दिनको अवसरमा बिहीबार जनजागृत प्राथमिक विद्यालय वीरेन्द्रनगर १२ पदमपुर सुर्खेतलाई स्टिल दराज सहयोग गर्नुभएको हो । बुवा धर्मजंग थापा र आमा पार्वती थापाले एक औपचारिक कार्यक्रमकाबीच विद्यालयलाई स्टिल दराज हस्तान्तरण गर्नुभयो । थापाले सोही विद्यालयमा अध्ययनरत पाँच जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहणगरी सहयोग गरिरहनुभएको छ । साथै यसअघि उक्त विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामग्री सहयोग गर्नुका साथै सुद्ध पिउनेको पानीका लागि पनि सहयोग गर्नु भएको थियो ।
समाजसेवी थापाले उक्त विद्यालयलाई यसअघि देखि नियमित रुपमा सहयोग गर्दै आएको र यस पटक विद्यालयसंगको सल्लाहमा शैक्षिक सामग्री राख्नका लागि दराज दिएको बताउनुभयो । वीरेन्द्रनगरभित्रै भएपनि विपन्न र पछाडी परेका समुदायका विद्यार्थीहरु अध्ययन गर्ने भएकाले उक्त विद्यालयलाई छनोट गरेको थापाको भनाइ छ । वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले सरकारले मात्र सबै दायित्व पूरा गर्न नसकिरहेको अवस्थामा शैक्षिक क्षेत्रको विकासका लागि जयन्ती जस्तै समाजसेविहरुको खाँचो रहेको बताउनुभयो । विद्यालयका प्राधानाध्यापक ज्ञानु कुमारी सुवेदी गैरेले विद्यालयमा निरन्तर विद्यालयलाई आर्थिक, भौतिक तथा शैक्षिक सहयोग गरेको भन्दै थापाप्रति आभार व्यक्त गर्नुभयो । यस्तै गैरेले सामाजिक मन भएका व्यक्तिहरुको समाजमा खाँचो भएको बताउनुभयो । जयन्तीका बुवा धर्मजंग थापाले छोरीले गरेको समाजसेवाले आफूलाई बुवा हुनुमा गर्भ लागेको बताउनुभयो ।