कर्णाली प्रदेश अस्पतालमा हाडजोर्नीको सफलतापूर्वक प्रत्यारोपण

सुर्खेत, २६ कात्तिक (जागरण) । कर्णाली प्रदेश अस्पताल सुर्खेतले हाडजोर्नीको सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अस्पतालले हालै २ जना महिलाको सफलतापूर्वक जोर्नी प्रत्यारोपण गरेको हो ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकास्थित विशाला घर भएकी ४० वर्षीय रंगा विक र कालिकोट घर भएकी ६४ वर्षीय दीपा महत्तराको जोर्नी प्रत्यारोपण गरिएको अस्पतालका प्रवक्ता एवंम् कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन डाक्टर विकास केसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
उनीहरु दुबैजनाको दाहिने खुट्टाको ‘हिप’ जोर्नीको अपरेशनमार्फत प्रत्यारोपण गरिएको डाक्टर केसीले बताउनुभयो ।
बाथ रोगका कारण हड्डी खिइएर हुने समस्याको समाधानका लागि यो प्रत्यारोपण गरिएको हो । यसका लागि प्रदेश अस्पतालमा ६ जना ‘कन्सल्टेन्ट अर्थोपेडिक’ डाक्टरहरुको टिम रहेको डाक्टर केसीले जानकारी दिनुभयो ।
हाडजोर्नीको प्रत्यारोपणका लागि काठमाडौं, बुटवल जानुपर्ने समस्यालाई कर्णालीमै समाधान गर्न सफल भएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताउनुभयो ।
वुटवलदेखि यता पश्चिम नेपालका विभिन्न शहरहरुमध्ये पहिलो पटक सुर्खेतमा सफल प्रत्यारोपण गरिएको उहाको दाबी छ ।
प्रदेश अस्पतालमै हाडजोर्नीको प्रत्यारोपण गर्न सकिने भएपछि यहाँका नागरिकलाई राहत प्रदान गर्न सकिने उहाले बताउनुभयो ।
हाडजोर्नी प्रत्यारोपण एक पटक गरिसकेपछि कम्तीमा २५ देखि ४० वर्षसम्म काम गर्ने डाक्टर केसीको भनाई छ ।