गुराँस गाउँपालिकामा बालअधिकार समिति गठन, संयोजकमा ललिता विक

दैलेख, २६ कात्तिक (जागरण) । दैलेखको गुराँस गाउँपालिकामा स्थानीय बालअधिकार समिति गठन गरिएको छ ।
जसको संयोजकमा ललिता विक चयन हुनुभएको छ । पालिकामा बालबालिकासँग सरोकार राख्ने व्यक्ति र संस्थाका प्रतिनिधिहरुको बैठकले विकलाई संयोजकमा चयन गरेको हो । विक गाउँ कार्यपालिकाको सदस्य समेत हुनुन्छ ।
त्यस्तै बैठकले प्रेमबहादुर बुढा, इश्वरी खड्का, जानकी बि.क., पदमकुमारी थापा, जगत विसीलाई समितिको सदस्यमा चयन गरेको छ ।
समितिमा बाल क्लवको तर्फबाट स्मिृति वली र पारश शाही सहभागी भएका छन् ।
लकडाउनका कारण लामो समय देखि समिति गठन गर्न नसकिएको भन्दै गाउँपालिका अध्यक्ष खेमराज ओलीले स्थानीय बालअधिकार समितिले बालबालिकाहरुको हक हितको संरक्षण तथा शारीरिक र मानिस विकास सम्बन्धी दीर्घकालनि स्थानीय रणनीति र योजना तर्जुमा गरी स्थानीय सरकारलाई सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाले भन्नुभयो, ‘गुराँस गाउँपालिकाले बालबालिकाको क्षेत्र धेरै राम्रा उदाहरणीय कामहरु गरेको छ । जोखिममा रहेका बालबालिकालाई तत्काल राहत तथा पुनस्र्थापनाका लागि प्रत्येक वडा र पालिकामा बालकोषको स्थापना, प्रत्येक वर्ष ४० जना बालबालिकालाई कोष स्थापना गरी दिर्घकालिन सहयोग, जीवन सुरक्षा कोष लगाएतका कामहरु सञ्चालन गरिएको छ ।’ उहाले थप्नुभयो, ‘एक दर्जन भन्दा बढी बालबालिकासँग सम्बन्धित नीति तथा कार्यविधिहरु तयार गरिएको छ, जसबाट जोखिममा रहेका बालबालिकाहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।’
उहाले यस्ता कामहरुको दस्तावेजीकरण गर्दै बालबालिकाको अधिकारका लागि थप आर्थिक स्रोत परिचालन गर्न आवश्यक भएकाले विकास साझेदार संस्थाहरुलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
यसैबिच, पालिकाले स्थानीय बालअधिकार समितिको सचिवालय पनि स्थापना गरेको छ ।
सचिवालय प्रमुखको रुपमा काम गर्ने गरी श्यामसुन्दर खड्कालाई स्थानीय बालकल्याण अधिकारीमा नियुक्ति गरिएको छ ।
नेपाल सरकारद्धारा अनुमोदित बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धि, बालकको हकहित एवं अधिकार संरक्षणसग सम्बन्धित अन्य अन्तर्राष्ट्रि एवं क्षेत्रीय महासन्धि वा घोषणापत्र तथा बालकको हक हित सम्बन्धी प्रचलित कानूनका प्रावधानहरुको कार्यान्वयनमा स्थानीय सरकारले पहल गर्नुपर्ने पालिकामा साझेदार संस्थाको रुपमा रहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले बताउनुभयो ।