दैलेखका महिलाहरु बालविवाह विरुद्धको अभियानमा

दैलेख, २९ कात्तिक (जागरण) । दैलेखका महिलाहरुले बालविवाह विरुद्धको अभियान चलाउन थालेका छन ।
घर टोल र विद्यालयमा गएर उनिहरुले बालविवाहविरुद्ध अभियान चलाउन थालेका हुन ।
आफुहरुले सानो उमेरमा विवाह गर्दा विभिन्न समस्या भोग्नुपरेको भन्दै यस्तो समस्यामा पछिल्लो पुस्ता पर्न नपरोस भनेर आफुहरुले अभियान चलाएको महिलाहरुले बताएका छन ।
दैलेख गुराँस गाउँपालिका वडा नम्बर ३ का महिलाहरु आमा समुहका बैठक, टोल–टोलमा हुने छलफलमार्फत सचेत बनाउन थालेका हुन ।
गुराँस गाउँपालिका वडा नम्बर ३ की मैनकली विकले आफुले १२ बर्ष विवाह गरेको भन्दै विभिन्न हिंसामा समेत पर्ने गरेको बतानुभयो । उहाले पछिल्लो युवायुवतीले यस्तो हिंसा भोग्नु नपरोस भनेर आफुले सम्झाउने गरेको कर्णाली रैबारसँग बताउनुभयो ।
वडा नम्बर ३ छर्चीका राम कुमारी विकले पनि १३ बर्षमा विवाह गर्नुभयो । उहाले आफुले भोगेको समस्या अहिले पछिल्लो युवाहरुलाई सुनाउदै सम्झाउने गरेको बताउनुभयो ।
त्यही वडा लक्ष्मी बुढाको पनि १७ बर्ष विवाह हुँदा पढ्न पाउनुभएन । अहिलेका युवाहरुले आफ्नो खुट्टामा उभिएर मात्र विवाह गरुन भन्ने आफ्नो चाहाना रहेको उहाको भनाई छ ।
गाउँका अन्य महिलाहरु सानो उमेरमा विवाह गर्दा धेरै पछुतो भएको बताउछन । उनिहरु यही अनुभव विद्यालयसम्म समेत पुर्याएर सचेत बनाइरहेका छन ।
गुराँस गाउँपालिका र समाजिक सेवा केन्द्र सोसेक नेपालको साझेदारीमा गाउँपालिकाभर बालविवाह विरुद्धका विभिन्न सचेतनाका कार्यक्रमहरु संचालन भइरहेको सोसेक नेपालका निर्मले अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिकाका केही वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी समेत गरिएको गुराँस गाउँपालिकाले जनाएको छ ।