मन्त्रिपरिषद् विस्तारमा साटो फेर्दै पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही


सुर्खेत, २९ कात्तिक ।
सुन्दरमणि अधिकारीको शब्दमा लोक गायिका विष्णु माझीले केही बर्ष पहिले गायको तीज गीत ‘तिमलाई नी पर्ख बजै साटो फेरौँला’ बोलको गीत निकै चलेको थियो । अहिले कर्णाली प्रदेशमा त्यही गीतको चरितार्थ भएको छ । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री जीवन बहादुर शाहीलाई साटो फेरिरहेका छन् ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीको सपथ लिएको झण्डै आधा महिनासम्म पनि जीवनबहादुर शाहीले मन्त्रि परिषद् विस्तार गर्न सकेका छैनन् । उनी कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री शाहीले गत बैशाख ३ गते नै छ महिनापछि आफू मुख्यमन्त्री हुने सहमतीमा हस्ताक्षर गरेर तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । जुन बेला केन्द्रमा वर्तमान सरकारको गठबन्धन बनिसकेको थिएन् । महेन्द्र शाहीको मुख्यमन्त्री पद जोगाउन काँग्रेसको मतले मात्रै संभव थिएन् । तत्कालिन नेकपा एमालेका माधव समूहका चार जना सांसदहरुले फ्लोर क्रस गरेपछि उनको पद जोगिएको थियो । त्यसबेला माओवादी, काँग्रेस र तत्कालिन माधव समूहका सांसदहरुबीच आलोपालो सरकारको नेतृत्व गर्ने तथा माओवादीले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, माधव समूहले तीन मन्त्रालय र काँग्रेसले एक मन्त्रालय लिने सहमती भएको थियो । सहमती अनुसार महेन्द्र शाहीले फ्लोर क्रस गरेरका तीन जनालाई भोली पल्ट बैशाख चार गते नै मन्त्रीमा नियुक्त गरे । तर काँग्रेस भने झण्डै दुई महिनासम्म सरकारमा सहभागी भएन् ।
फ्लोर क्रस गरेका आफ्ना चार सांसदलाई एमालेले कारबाही गरेपछि कर्णाली प्रदेशसभामा काँग्रेस निर्णायक शक्ति बन्यो । बहाल रहेको ३५ सदस्यीय प्रदेशसभामा एमालेका १६, माओवादीका १२, काँग्रेसका ६ र राप्रपाका १ सांसद बाँकी रहे । माओवादी र एमाले मध्य काँग्रेस जता ढल्कियो उसैको सरकार बन्ने भएपछि जीवनबहादुर शाहीले महेन्द्र शाहीसंग ‘निहू खोज्न’ थाले । उनले आफ्नो पार्टीलाई दुई वटा मन्त्रालय नदिएसम्म सरकारमा सहभागी नहुने अड्डी कसे । काँग्रेसको ‘कचकच’लाई वेवास्ता गर्दै महेन्द्र शाहीले एउटा मन्त्रालय थपेर बैशाख २९ गते मन्त्रिपरिषद्मा हेरफेर गरी आफ्नो पार्टीका तीन जना मन्त्री नियुक्त गरे ।
त्यसबाट जीवनबहादुर शाही झन रिसाएपछि नियुक्त भएको छ दिन पछि जेठ तीन गते सीताकुमारी नेपाली र गोपाल शर्मा दुई जनाले मात्र सपथ लिए । मुख्यमन्त्रीले मन्त्रीमा नियुक्त गरेका माओवादीका सांसद विन्दमान विष्टले सपथ नै खान पाएनन् । त्यती गर्दा पनि रिसाएको काँग्रेस फकिएन् । फुटाएको समाजिक मन्त्रालय गाभ्नुपर्ने र दुई वटा मन्त्रालय पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाइराख्यो ।
संवैधानिक व्यवस्था अनुरुप असार एक गते नीति तथा कार्यक्रम र दश गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने र त्यसअघि छलफल चलाउनुपर्ने समयसीमाले च्याप्दै आयो । अप्ठेरोमा परेपछि महेन्द्र शाही काँग्रेसलाई दुई मन्त्रालय दिन तयार भए । तर पनि काँग्रेस सरकारमा जना मानेन् । कारण थियो काँग्रेसको भागको समाजिक विकास मन्त्रालय फुटाएर माओवादीको भागको आन्तरिकम मामिला मन्त्रालयमा क्षेत्राधिकार थप गर्नु । नीति कार्यक्रम बजेट ल्याउनुपर्ने समय नजिकिदै गर्दासम्म अप्ठेरोमा पारेपछि काँग्रेसकै माग अनुसार सामाजिक विकास मन्त्रालयलाई गाभ्नुका साथै उर्जा तथा जलस्रोत मन्त्रालय काँग्रेसलाई भाग दिए । आफ्नो माग पुराभएपछि जेठ २२ गते काँग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र उर्जा तथा जलस्रो मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई पठायो । एमालेले समर्थन फिर्ता लिएपछि सजिलै विश्वासको मत लिएका महेन्द्र शाहीलाई विश्वासको मत दिएको काँग्रेसलाई सरकारमा सहभागी गराउन निकै कसरत गर्नु प¥यो ।
अहिले जीवनबहादुरको हकमा पनि त्यस्तै परिदृष्य दोहोरिएको छ । सहमती अनुसार कात्तिक १५ गते नै राजिनामा दिएका महेन्द्र शाहीले मन्त्रिपरिषद् विस्तारमा भने अल्झाइरहेका छन् । बैशाख तीन कै सहमती अनुसार सरकार फेरिएको भनेपनि तीन दलिय गठबन्धनमा मुख्यमन्त्री बाहेकको भाग बण्डा मिलेको छैन । माओवादीले आफ्नो संसद संख्या सबैभन्दा बढी भएकाले चार मन्त्रालय पाउने पर्ने दाबि गरेको छ भने समाजवादीले पूर्व सहमती अनुसार तीन तथा काँग्रेसले दुई मन्त्रालय पाउनुपर्ने आ–आफ्नै दाबि गरिरहेका छन् । नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादीका तीन जना सांसद छन् । गठबन्धनका दलहरुबीच यतिसम्म की मन्त्रालयको भागबण्डा र मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा कुनै औपचारिक छलफल नै भएको छैन । राजिनामा दिएको भोलिपल्ट मुख्यमन्त्री बनाएर महेन्द्र शाही पर्सी पल्ट नै काठ्माण्डौँ हानिए । स्वास्थ्य चेक जाँच तथा उपचारका लागि काठ्माण्डौँ बसेकोको भनेपनि भेटघाट र घुमफिरमा अधिकांस समय विताए । मुख्यमन्त्री जीवन शाहीलाई कात्तिक २५ गते सुर्खेत आउने बचन दिएका महेन्द्र शाही सुर्खेत आएनन् बरु कैलाली तिर घुम्न गए । मुख्यमन्त्री उनकाे बाटाे हेरेर बसिराखे तर महेन्द्र शाही भने शनिबार काठ्माण्डौँबाट नेपालगञ्ज विमानस्थल ओर्लिर सिधै कर्णाली चिसापानी गए । कर्णाली चिसापानी बुलबाट टिकापुरसम्म छ घण्टा ¥याफुटिङ्ग गरे । त्यसपछि टिकापूरस्थित बननाज् रेस्टुरेण्टमा खाना खाएर नेपालजञ्ज फर्किए । उनी घुम्दै–फिर्दै आइतबार मात्रै सुर्खेत आइपुगेका छन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री शाही सुर्खेत आइपुगेकाले मन्त्रिपरिषद् विस्तारका लागि सोमबार छलफल हुने मुख्यमन्त्री निकटले स्रोतले बतायो । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले पूर्णता दिन नसकेपनि मंगलबारसम्म केही मन्त्री नियुक्त गर्न चाहेका छन् । नेकपा समाजवादीका संसदीय दलका नेतासहित नेताहरु पार्टीको कार्यक्रममा काठ्माण्डौँमै भएकाले मन्त्रीपरिषद्ले पूर्णता पाउन थप केही दिन लाग्न सक्ने देखिएको छ । मुख्यमन्त्री शाही भने मन्त्रालयको संख्या टुङ्गो लागे आफ्नो पार्टीबाट मन्त्री नियुक्त गरेर भएपनि मन्त्रिपरिषद् विस्तारको सन्देश दिन चाहेका छन् ।
मुख्यमन्त्री शाहीले भने एक दुई दिन भित्रैमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । ‘मन्त्रि परिषद् विस्तारका विषयमा हामी छलफलमै छौँ’ उनले भने‘एक दुई दिनमै पूर्णता पाउछ ।’