सुर्खेत र रुकुमबाट विप्लपका २० कार्यकर्ता पक्राउ

सुर्खेत, ३० कात्तिक ( जागरण) ।
बन्द गराउँदै हिडेका नेत्रबिक्रम चन्द ‘विप्लप’नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका २० जना कार्यकर्ता सुर्खेत र रुकुम पश्चिमबाट पक्राउ परेका छन् ।
बन्द गराउँदै हिडेको अवस्थामा सुर्खेतबाट सात जना र रुकुम पश्चिमबाट १३ जनालाई आज प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बन्दकर्ताहरुलाई प्रहरी नियन्त्रणमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए । पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध विप्लप नेतृत्वको नेकपाले आज देशैभर बन्दको आह्वान गरेको छ । कर्णालीमा पनि बन्दको देखिएको छ । बन्दका कारण प्रदेशका सबैजसो जिल्लामा सार्वजनिक यातायात सञ्चालन भएका छैनन् । प्रदेश राजधानी सुर्खेतसहित मुख्य मुख्य बजारहरु पनि खुलेका छैनन् । अधिकांस स्कूल कलेजहरु पनि बन्द छन् । निजि सवारी तथा मोटरसाइकलहरु भने फाट्ट फुट्ट चलेका छन् । कर्णालीका अधिकांस जिल्लामा बन्दको प्रभाव देखिएपनि अहिलेसम्म कुनै अप्रिय घटना भने नघटेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

क्याप्सन ः बन्दले सुनशान वीरेन्द्रनगरको दैलेखराेड चाेक। तस्वीर ः किरन रेग्मी