कानुन मन्त्री नियुक्ती, कृषि मन्त्रीकाे सपथ!


सुर्खेत, ३० कात्तिक (जागरण) ।
कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको १५ औँ दिनमा एक जना मात्र मन्त्री नियुक्त गरेका जीवनबहादुर शाहीलेले नव नियुक्त मन्त्रीलाई सपथ खुवाउ निकै फकाउनुप¥यो ।
मुख्यमन्त्री शाहीले मंगलबार दिउसो सांसद चन्द्रबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीको रुपमा नियुक्त गरी प्रदेशप्रमुख समक्ष सपथ ग्रहणका लागि सिफारिस गरे । प्रदेश प्रमुख कार्यालयले वेलुका साढे पाँच बजे सपथ ग्रहणका लागि बोलायो । सचिवालयबाट त्यही अनुसार सबैलाई खबर गरियो । तर नव नियुक्त मन्त्री तोकिएको समयमा सपथ लिन आएनन् । शाहीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिनुपर्ने भन्दै कानुन मन्त्रीको सपथ नलिने अड्डी कसे । सोमबार राती मुगुमा आगलागी भएपछि मुख्यमन्त्री शाहीले विपत्सम्बन्धी हेर्ने विभागीय मन्त्री आन्तरिक मामिला तथा कानुन मन्त्री तत्कालै नियुक्त गर्न चाहेका थिए । सोही योजना बमोजिम मुगुबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्ने चन्द्रबहादुरलाई नियुक्त गरे । मुख्यमन्त्री शाहीले भोली बुधबार विहान विभागिय मन्त्रीसहित मुगु जाने योजना बनाएका थिए । तर नेकपा एकीकृत समाजवादी समाजवादीका संसदीय दलका नेता समेत रहेका चन्द्रबहादुर शाहीले स्वीकार नगरेपछि आफ्नो निर्णयबाट पछि हट्न मुख्यमन्त्री बाध्य भए । फकाउने प्रयास असफल भएपछि अन्ततः मुख्यमन्त्रीले चन्द्रबहादुरलाई रोजे अनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाएका छन् ।
मन्त्रालयको भागवण्डा नभइसकेकाले मन्त्रालय परिवर्तन गर्न मुख्यमन्त्रीले माओवादी केन्द्रसंग पनि सल्लाह गर्नुपर्ने थियो । जसले गर्दा निर्धारित समयमा भन्दा एक घण्टा ढिलागरी सपथ ग्रहण भएको छ । नवनियुक्त मन्त्री चन्द्रबहादुर शाहीलाई प्रदेश प्रमुख तिलक परियारले बेलुका साढे ६ बजे पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।
नेकपा एमाले मुगुबाट निर्वाचित सांसद शाही नेकपा विभाजनसँगै माधव नेपालको पक्षमा लागेका थिए । तर नेकपा एमाले विभाजन भएपछि शाहीले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।