सुर्खेत, २ मंसिर ।
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी हुनका लागि मन्त्रालयको भागबण्डा बारे टुङग्याउने जिम्मेवारी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको छ ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको विहीबार बसेको बैठकले मन्त्रालयको भागबण्डाबारे सरकारसंग छलफलगरी निर्णय लिने जिम्मे संसदीय दलका नेतालाई दिएको हो । साथै बैठकले सत्ता गठबन्धनका दलहरुमा संसद संख्याका आधारमा सम्मानजनक सहभागिता हुनुपर्ने निर्णय गरेको माओवादी केन्द्रका सांसद विन्दमान विष्टले जानकारी दिए । ‘हाम्रो पाटीका १२ काँग्रेसका छ, समाजवादीका तीन सांसद छन’ सांसद विष्टले भने,‘सांसद संख्याका आधारमा सम्मानजक सहभागिता हुनुपर्ने निर्णय गरेका छौँ यति उति मन्त्रालय भन्ने केही भएको छैन ।’ कति मन्त्रालय पाउने भन्ने टुँगो लागिसकेपछि मात्र क कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल हुने विष्टको भनाइ छ ।
आलोपालो सरकार चलाउने गरी बैशाख तीन गते भएको निर्णयका आधारमा काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री भएपनि माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन । मुख्यमन्त्री शाहीले आफू नियुक्त भएको १६ औँ दिनमा मंगलबार नेकपा एकीकृत समाजदावादीका चन्द्रबहादुर शाहीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका छन् । सत्ता गठबन्धनमा कसले कती मन्त्रालय पाउने भन्ने टुङ्गो नलाग्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।