अमेरिकासहित तीन देशका राजदुतले रारामा तीन रात विताए


सुर्खेत, २ मंसिर (जागरण) ।
नेपालका लागि अमेरिकी राजदूत रेण्ड बेरी, अष्ट्रिलेयन राजदूत फेलिसिट भोल्क र बेलायती राजदूत निकोला पोलिगले तीन दिन रारामा विताएका छन् ।
कात्तिक २८ गते मुगुको रारा ताल पुगेका तीन देशका राजदुतहरु मंसिर हिजो मंसिर १ गते फर्किएका हुन् । जलवायु परिवर्तनको असर बारे छलफल गरेर राजूतहरु फर्किएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
जलवायू परिवर्तनका असरबारे सबैलाई जानकारी होस भन्ने उद्देश्यले रारा भ्रमण गरेको राजदूत बेरीले अमेरिकन राजदूतावासको फेसबुक पेजमा उल्लेख गरेका छन् । जलवायु परिवर्तन विनाशकारी भएको र यसले सवै समुदाय र पृथ्वीका सवै कुनालाई असर गर्ने हुँदा अहिले खतराको घण्टी बजेको उनले फेसबुकमा लेखेका छन् । ‘रारा ताल नेपालको सवैभन्दा ठुलो र हिमाली क्षेत्रमा अवस्थित ताल हो । यो झन्डै झन्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिहरूको बासस्थान पनि हो । जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीहरूले आगलागी, बाढीपहिरो, लगायत भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असर लगायत विभिन्न कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको छ । अग्ला भेगमा हुने विभिन्नखाले यस्ता संकटको प्रभाव तल्ला क्षेत्रहरूस सम्म पनि पर्ने गर्दछ ।’ उनी लेख्छन्,‘त्यसैले म किन यो यात्रा गर्दैछु त। स्पष्ट छ, म तपाईंहरू सवैलाई यी सवै विषयका बारे अवगत होस् भन्ने चाहन्छु ।’


राजदूत बेरीले दोस्रो दिनको रारा डायरीमा विश्वका विभिन्न देशको सहभागितामा हालै भएको कोप २६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्याँस घटाऊने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको कुरालाई स्मरण गराएका छन्् । साथै उनले जलवायू परिवर्तनका असरहरु घटाउन व्यक्ति, देश हुँदै विश्व स्तरमा प्रतिबद्धता हुनुपर्ने औँल्याएका छन् ।
आफ्नो रारा भ्रमण समापन गर्दै राजदूत बेरी लेख्छन् “नेपाल प्राकृतिक सम्पदाले सम्पन्न छ । कोप २६ मा पेश गरेका महत्वाकांक्षी प्रतिवद्धताले देखाउँछ कि नेपालले प्रकृतिमा आधारित समाधान मार्फत नेतृत्वदायी भूमिका खेल्नसक्छ ।’’
राजदूत हरुले राराको अवलोकनसँगै मुर्माटप, मुर्मा गाउँको पनि भ्रमण गरेका छन् ।


एकै पटक तीन विदेशी राजदूत रारा तालमा पुगेपछि राराको पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास पर्यटन व्यवसायीहरुले गरेका छन् । कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले तीन ठूला देशका राजदूतहरुको रारा भ्रमणले राराको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसारमा सहयोग पुग्ने बताए ।

तस्वीरहरु: अमेरिकन राजदूतावासकाे फेसबुक पेजबाट लिइएको हो ।