मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

सुर्खेत,३ मंसिर (जागरण)।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यही मंसिर १४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनार्थ १४ गते दिउसो १ बजे कर्णाली प्रदेशसभाको बैठक आह्वान गरिएको हो । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम संसद बैठक आह्वान गरेको सूचना प्रदेश प्रमुख कार्यालयले आज शुक्रबार जारी गरेको छ । नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्राब्धान छ । सोही प्राब्धान अनुसार मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् । उनी धारा १६८ (२) को उपधारा १ मा भएको व्यवस्था प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्राब्धान बमोजिम नेकपा माओवादी केन्द्र र समाजवादी दलको समर्थनमा नियुक्त भएका हुन् ।