जनताको जीवनमा परिवर्तन हुनेगरी काम भएको लेकवेशी नगरपालिकाको दाबी

सुर्खेत, ६ मंसिर (जागरण) । सुर्खेत लेकवेशी नगरपालिकाले वितेको चार बर्षमा जनताको जीवनमा सुधार हुनेगरी काम गरेको बताएको छ ।
लेकवेशी गमखोलामा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रम मार्फत नगरपालिकाले चार बर्षको अवधीमा थुप्रै विकासका काम गरेको बताएको हो ।
शुरुका केही बर्ष कानुनी जटिलता रहेको भन्दै त्यसका बाबजुत पनि विकासका थुप्रै काम गरेको बताएको छ ।
नगरपालिकाले आर्थिक, सामाजिक, र पूर्वाधार क्षेत्रमा सन्तोषजनक काम गरिएको दाबी गरेको छ ।
कृषि आधुनिकीकरणका लागि ५० प्रतिशत अनुदान सहयोगमा कृषि औजार तथा सत प्रतिशत सहयोगमा उन्नत विऊ विजन उपलब्ध गराएको नगर उपप्रमुख शान्ति कुमारी छन्तेलले जानकारी दिनुभयो ।
उहाले कृषि र पशुपालन क्षेत्रमा विभिन्न प्रोत्साहन अन्तरगत नश्ल सुधार, व्यवसायिक पशुपञ्छी फर्मको सुदृढिकरण लगायतका कार्य अगाडी बढाइएको भन्दै अहिले यस क्षेत्रमा युवाहरुको आकर्षण बढेको बताउनुभयो ।
नगरपालिकाले प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत चार हजार एकसय २२ जना युवाहरुलाई रोजगारी दिएको बताएको छ ।
पूर्वाधार क्षेत्रमा सबै वडामा सडक ट्रयाक खोलिएको भन्दै उपप्रमुख छन्तेलले अहिलेसम्म ३ सय ८३ किलोमिटर सडक निर्माण गरिएको जानकारी दिनुभयो ।
उहाले शिक्षा, स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार निर्माण पनि नगरपालिकाले धेरै काम गरेको भन्दै हालै चन्द्रपुर मावीको १ करोड दुइ लाखमा नयाँ भवन निर्माण भएको बताउनुभयो ।
सिमीत श्रोतका बावजुत पनि धेरै काम गरिएको बताउँदै नगर अस्पतालका लागि १२ करोड ४२ लाख विनियोजन भएको र उक्त कामका लागि सम्झौता भइसकेको उहाले जानकारी दिनुभयो ।
नगर उपप्रमुख छन्तेलले प्रयाप्त बजेट नहुँदा नगरपालिकाले गुणस्तरिय विकास गर्न नसकेको बताउँदै प्रदेशको राजधानी नजिकको नगरपालिका हुँदा पनि प्रदेश सरकारले वेवास्था गरेको बताउनुभयो ।
उहाले धुलियाबिट भेडाबारी सडक स्तरउन्नतीका लागि धेरैपटक ताकेता गर्दा पनि प्रदेश सरकारले नसुनेको बताउनुभयो ।
अहिलेपनि लेकबेशी नगरपालिकाका दुइवटा वडा विद्युतबिहिन रहेको भन्दै यतातर्फ माथिल्लो तहका सरकारहरुले चासो दिनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासंघ सुर्खेतले आफ्नो नियमित पूर्ण बैठक लेकवेशीमा गरेको थियो । महासंघको बैठक अगाडी नगरपालिकाले गरेका कामको समिक्षा गरिएको थियो ।
प्रत्येक पालिकाका समस्या र विकासको अवस्था समेत जनतालाई जानकारी हुनेगरी आफ्ना पूर्ण बैठक सुर्खेतका सबै पालिकामा गर्ने महासंघका अध्यक्ष ललित बसेलले जानकारी दिनुभयो ।