सुर्खेत, ६ मंसिर (जागरण) ।
अपांगता भएका व्यक्तिहरुको जिविकोपार्जनमा सुधार गर्नका लागि सुर्खेतमा क्रियाशिल संघ संस्थाहरुले समन्वयात्मक ढंगले काम गर्ने भएका छन् ।
समाज जागरण केन्द्र (स्याक) नेपालले किशोर किशोरी र युवा सशक्तिकरण परियोजना अन्तर्गत अपांगताका क्षेत्रमा क्रियाशिल संघ संस्था एवं सामुदायिक संस्थाहरुसंग आज वीरेन्द्रनगरमा आयोजना गरेको समन्वयात्मक बैठकमा सो प्रतिबद्धता जनाइएको हो । बैठकमा स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले अपांगता भएका व्यक्तिहरुको सर्वाङ्गीर्ण विकासका लागि का लागि त्यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी क्षेत्रका सरोकारवाला निकायसंग मिलेर काम गर्नुपर्ने बताउनुभयो । आचार्यले परियोजना मार्फत अपांगता भएका व्यक्तिहरुको शिक्षा र आयआर्जनमा सहयोग गरिने बताउनुभयो । यस्तै परियोजना संयोजक तेज सोनामले असमानता तथा भेदभावमा परेका किशोर किशोरीको सर्वाङ्गीर्ण विकास गर्ने परियोजनाको उद्देश्य रहेको बताउनुभएको थियो । अपांगता सम्बन्धि काम गर्ने संघ संस्थासंग समन्वयगरी प्राविधिक सहयोग गर्नुका साथै स्थानीय सरकारहरुसंग समन्वय गरिने सोनामको भनाइ छ । कार्यक्रममा नेपाल नेत्रहिन संघ सुर्खेतका अध्यक्ष तोरण अधिकारीले कार्य क्षेत्र मिल्ने सबै संघ संस्था निकायहरु समन्वयात्मक रुपले काम गरे मात्र अपांगता भएका व्यक्तिको हित हुने बताउनुभयो । स्याक नेपालका कार्यसमिति सदस्य नवराज खड्काले स्याकले विगतदेखि नै सिमान्तकृत, अल्पसंख्यक एवं पछाडी पारिएका समुदायको सशक्तिकरणमा काम गर्दै आएको बताउनुभयो । उहाँले बैठकमा आएका सुझावलाई अनुसरण गरेर आगामी दिनमा अगाडी बढ्ने बताउनुभयो ।