सुर्खेत, ७ मंसिर (जागरण) । चीनसँग सिमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिकामा खाद्यान्न यस बर्ष खाद्यन्न अभाव हुने भन्दै नागरिक चिन्तित भएका छन ।
आलु र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको नाम्खा गाउँपालिकाको वडा नम्बर–६ मा हिमपातका कारण खाद्यान्न ढुवानीका लागि बाटो नहुदा खाद्यान्न अभाव हुने देखिएको हो ।
त्यहाँका नागरिकले आलु र उवाले मुस्किलले दुई÷तीन महिना कटाउने गर्दछन् । वर्षासँगै आएको हिमपातका कारण हिल्सा नाका बन्द भएपछि चीन सरकारले अनुदानमा दिदै आएको खाद्यान्न हिल्सामै रोकिएपछि गाउँमा खाद्यान्न अभाव हुने देखिएको भन्दै स्थानीय चिन्तित बनेका हुन ।
उवा र आलु मात्रै उत्पादन हुने लिमिमा वर्षाले उवा नष्ट गरेपछि नाम्खाको तिल, जाङ र हल्जीका गाउँका करिब पाँच सय जनसङ्ख्या भोकमरीको चिन्तामा रहेको स्थानीय तक्विर लामाले कर्णाली रैबारमार्फत गुनासो गर्नुभयो ।
उहाले यतीबेला नहेरे सबै जनता भोकै मर्नुपर्ने अवस्था आउने भन्दै पिडा व्यक्त गर्नुभयो । यता, नाम्खा गाउँपालिकाकाले भने खाद्यन्न पुर्याउने विकल्प भनेको हेलिकोप्टर मात्र भएको बताएको छ ।
अध्यक्ष विष्णु बहादुर तामाङ लामाले चिन सरकारले गएको महिना नाम्खा गाउँपालिकालाई २२ सय कट्टा चामल राहत स्वरुप दिइएको भन्दै भारी हिमपातले उक्त चामल हिल्सामै रोकिएको जानकारी दिनुभयो ।
उहाँका अनूसार अहिले लिमीमा खाद्यान्न पु¥याउन हेलिकोप्टर बाहेक अर्को विकल्प छैन । सडक तथा गोरेटो मार्गमा हिउ जमेकाले ट्र्याक्टर र खच्चडबाट लैजान असम्भव रहेको छ ।
हिल्सा नाका पारि आइपुगेको मैदा र चामल हिमपातका कारण ५ हजार उचाइको लेक पार गर्नुपर्ने बताउनुभयो ।
खाद्यन्न पु¥याउने जोहोका लागि सांसद छक्कबहादुर लामाको साथमा वडानम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङलाई काठमाण्डौ पठाइएको उहाले जानकारी दिनुभयो ।
कार्तीक महिनामा परेको बाक्लो हिउँले गाउँमा खाद्यान्न पु¥याउन सकिने अवस्था नरहेको उहाँको भनाइ छ । अब त्यहाँ खाद्यान्न पठाउन चार्टर उडानको विकल्प छैन ।
उहाँका अनुसार चीन आउजाउ सहज हुँदा यसअघि लिमीका बासिन्दा चिनियाँ खाद्यान्नको भर पर्थे । तर अहिले हिमपातले बाटो खोल्न कठीनाई हुदा खाद्यान्न ढुवानीमा समस्या भएको छ । त्यहाँका बासिन्दाले कोरोना महामारी अघिसम्म चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै मैदा ल्याएर छाक टारेका थिए ।