सुर्खेत, ७ मंसिर (जागरण) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन अन्तर्गत कर्णालीका २ सय भन्दा धेरै वडा तहमा नयाँ नेतृत्व चयन गरेको छ ।
सुर्खेत, दैलेख, कालिकोट र हुम्ला जिल्लाका गरी २ सय ७ वडा तहमा नयाँ नेतृत्व चयन गरेको हो ।
शनिबारदेखि वडामा सुरु भएको अधिवेशन अन्तर्गत दुइवटा वडा बाहेक अन्य वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले जानकारी दिएको छ ।
सुर्खेत जिल्लाका ९ वटा स्थानीय तहका ९९ वडामध्ये ७६ वडामा सम्मेलन सम्पन्न भएको छ ।
जसमध्ये ७४ वडातहमा सर्वसम्मत कमिटी गठन भएका छन् भने २ वटा वडामा मतदानको माध्यमबाट कमिटी निर्वाचित भएका छन् ।
अन्य केही स्थानीय पालिकाहरुमा केही तयारी तथा मेलाका अधिवेशन हुन नसकेको जिल्ला समन्वय समितिका संयोजक कृष्ण जिसीले जानकारी दिनुभयो ।
अधिवेशन हुन बाँकी वडाहरुमा पनि केहीदिनभित्र नेतृत्व चयन हुने जनाइएको छ ।
हुम्लाको लिमीमा चिसोका कारण अधिवेशन हुन नसकेको बताइएको छ । कालिकोट जिल्लाका भने सबै वडातहमा नेतृत्व चयनको काम सम्पन्न भइसकेको छ ।
यस्तै, जुम्लाका ५२ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
माओवादीले यही मङ्सिर ४ गते एकैसाथ सुरु गरेको वडा सम्मेलनमा ६० वडामध्ये ५२ वडाको नेतृत्व चयन गरिएको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।