सुर्खेत, १४ मंसिर ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।
विश्वासको मत लिने प्रयोजनका मंगलबार बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् । प्रदेशसभा बैठक सुरू भएलगतै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरेर सुनाएका थिए । त्यसलगतै सरकारमा मन्त्रालयको जिमेवारी हेरफेर सम्बन्धी पत्र सुनाएर सभामुख शाहीले मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय दिए ।
मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेलगतै बैठक स्थगित गरिएको छ । बैठक आज बुधबार दिउसो १ बजे बोलाइएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु अनुपस्थित भएपछि बैठक भोलीका लागि स्थगित गरिएको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले बताए ।
नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रमा विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
कर्णाली प्रदेशसभाका जम्मा ४० मध्य सभामूखसहित ३५ जना सांसद बहादल छन् । जसमा नेकपा एमालेका सभामुखसहित १३, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६, समाजवादीका ३ र राप्रपाका १ जना छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन १८ जना सांसदको समर्थन चाहिन्छ । गठबन्धन दलका सांसदहरुको संख्या २१ रहेकाले मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित जस्तै छ ।