नेपाली काँग्रेसको प्रदेश अधिवेशन सुुरु, कर्णाली प्रदेश सभापतिमा पौडेल समुहबाट शाहीको उमेद्वारी

सुर्खेत, १७ मंसिर (जागरण) । नेपाली काँग्रेसको प्रदेश अधिवेशनसुुरु भएको छ ।
कर्णाली प्रदेशको हकमा राजधानी वीरेन्द्रनगरको रङ्गशालामा अधिवेशन कार्यक्रम आयोजना गरिएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रदेश अधिवेशन उद्घाटन गर्नुभएको छ ।
अधिवेशन उद्घाटन कार्यक्रममा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु सहभागी भएनन् ।
पौडेल पक्षका नेताहरुले कार्यक्रमबारे आफूलाई कुनै खबर नभएकाले उपस्थित नभएको जनाएका छन् ।
काँग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले आफुहरुलाई अधिवेशन उद्घाटनमा नबोलाइएको भन्दै पछि उद्घाटन भएको हल्ला भएपछि मात्र थाहा पाएको बताउनुभयो ।
उहाले टिमको कार्यक्रम जस्तो गरी अधिवेशन उद्घाटन गरिएको भन्दै आसन्तुष्टि व्यक्त गर्नुभयो ।
यसैबिच, पौडेल समुहले प्रदेश सभापतिको उमेद्वारी टुङ्गाएको छ । उक्त पक्षबाट तरुण दलका केन्द्रीय महामन्त्री भुपेन्द्रजंग शाहीलाई उमेद्वार बनाउने भएको हो ।
शाहीलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको युवा नेता नारायण कोइरालाले बताउनुभयो ।
हाल तरूण दलको महामन्त्री रहेका शाही कालीकोटका नीवासी हुनुहुन्छ । उहा नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय उपाध्यक्ष पनि हुनुहु्न्छ ।
तीन कार्यकाल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य समेत भएका शाहीले २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार बन्नुभएको थियो ।
शाहीले आज पत्रकार सम्मेलनको आयोजना गरी आफुले सभापतिमा जित्ने दाबी गर्दै काँग्रेसभित्रको गुट उपगुट न्युनिकरण गर्ने बताउनुभएको छ ।
उहाले काँग्रेसलाई जनताको भरोसा गर्ने पार्टी बनाउने भन्दै आगामी निर्वाचनमा कर्णालीमा एकलौटी सरकार बनाउने दाबी गर्नुभयो ।
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वभाविक लिनुपर्ने भन्दै आफुले नेतृत्व लिएर सबल पार्टी बनाउने उद्घोष गर्नुभयो ।
यता, संस्थापन (देउवा) पक्षबाट कर्णाली प्रदेश सभापतिमा चार जना आकांक्षी छन् । मुख्यमन्त्री जीवनबहादुर शाही, जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीव विक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारीको नाम सभापतिमा चर्चा छ ।