सुर्खेत, १७ मंसिर (जागरण) । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात भएको छ । हुम्लामा हिमपात भएसँगै चिसो बढेको छ । सदरमुकाम सिमकोट तथा तल्लो क्षेत्रमा आज बिहानदेखि पानी परेको छ । हिमपातपछि चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ ।
सिमकोटको तापक्रम माइनसमा झरेको छ । चिसोबाट जोगिन सिमकोटका बासिन्दाले आगो ताप्न थालेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा पनि हिमपातले चिसो बढाएको छ ।
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज पनि उच्च पहाडी तथा हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुने मौसमविद्ले बताएका छन् ।
मौसमविद् समिर श्रेष्ठका अनुसार कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ ।
यी प्रदेशका पहाडी जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा हुने पनि उहाँले बताउनुभयो ।
यसैबिच, अत्यधिक जाडो बढेपछि नेपाल र चीन सीमास्थित हुम्लाको लिमी, डोल्पाको थार्का र मुगुको मुगुगाउँस्थित प्रहरी चौकी विस्थापित भएका छन ।
हिमपातको मौसम सुरु भएपछि चौकीमा कार्यरत प्रहरीलाई हुम्ला सदरमुकाम सिमकोट र मुगु सदरमुकाम गमगढी बोलाइएको हो ।
चिसोका कारण आसपासका गाउँहरू सुनसान बनेपछि प्रहरी चौकी विस्थापित भएका हुन् । जाडो कटाउन सीमावर्ती गाउँका बासिन्दा बेंसीतिर झरेका छन ।
सदरमुकाम आएका प्रहरीहरू गर्मी सुरु भएपछि चैत महिनामा मात्र चौकीमा फर्किने मुगुका डीएसपी सुवास हमालले बताउनुभयो ।