सुर्खेत, १९ मंसिर (जागरण) । कर्णाली प्रदेशमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने तथा जाँच गराउनेको संख्या बढ्दै गएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो तथ्याङ्क अध्ययन गर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेको संख्या बढ्दै गएको हो ।
स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामिण भेगका महिलाहरु पनि स्वास्थ्य संस्थामा जान थालेका छन् । घरमै सुत्केरी हुँदा जोखिम हुने भएकाले स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने चेतना बढेकाले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेको संख्या बढ्दै गएको हो ।
पछिल्लो समय स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने र जाँच गराउनेको संख्या बढेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेको संख्या आर्थिक वर्ष २०७५÷२०७६ मा ७३ दशमलब २ प्रतिशत, २०७६/२०७७ मा ७७ दशमलब ५ प्रतिशत, २०७७/२०७८ मा ८७ प्रतिशत रहेको छ । स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ जाँच गराउनेको संख्या ७६ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०७५/२०७६ मा ६१ दशमलब ८ प्रतिशत, २०७६/२०७७ मा ६५ दशमलब ६ प्रतिशत र २०७७/२०७८ मा ७६ प्रतिशत पुगेको हो ।
निर्देशनालयका वरिष्ठ कम्युनिटी नर्सिङ्ग अधिकृत मानकुमारी गुरुङ्गले विगतका वर्ष भन्दा पछिल्लो समय स्वास्थ्य संस्थामा आएर सुरक्षित प्रसूती हुनेको संख्या बढेको बताउनुभयो । यसले आमा र बच्चा दुवैमा हुने जोखिम कम भएको उहाँको भनाई छ ।
नागरिकहरुमा पनि जनस्वास्थ्य प्रति सचेत हुन थालेकोले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेको संख्या बढेको उहाँले बताउनुभयो ।
सरकारले सुरक्षित मातृत्व कार्यक्रम संचालन गरेको छ । स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेलाई यातायत खर्च, पोष्ण कोसेली वितरण गर्नेलगायतका कार्यक्रम रहेका छन् ।