कर्णाली प्रदेशमा चिकित्सा शिक्षा (एमविविएस) कक्षा शुरु

सुर्खेत, २१ मंसिर (जागरण) । कर्णाली प्रदेशमा चिकित्सा शिक्षा (एमविविएस) कक्षा शुरु भएको छ ।
स्वास्थ्य सेवाका दृष्टिकोणले पछाडी परेको कर्णाली प्रदेशमा एमविविएस कक्षा शुरु भएपछि स्वास्थ्य क्षेत्रमा सुधारको आशा पलाएको हो ।
एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत शुरु भएको हो ।
सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने ध्येयले विसं २०६८ मा जुम्ला सदरमुकमास्थित खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो ।
चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो । साथै आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये १५ जना भर्ना भएका छन् । तीमध्ये छात्रा पनि रहेका जनाइएको छ । पहिलो नम्बरमा भर्ना भएका छात्र ओमकुमार यादवले जुम्ला आएर एमबिबिएस भर्ना हुन पाएकामा धेरै खुशी भएको बताउनुभयो ।
प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुआत भइसकेको छ ।
प्रतिष्ठान आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ ।
प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ ।
अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष छ । जुम्लामा एमबिबिएस कक्षा सुरुआत भएसँगै समग्र कर्णालीको स्वास्थ्य सेवा र शिक्षाले ऐतिहासिक फड्को मार्ने अपेक्षा लिइएको छ ।
चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक कार्यरत रहेका जनाइएको छ ।