यस्तो विद्यालय जहाँ विद्यार्थी पढ्छन् पनि कमाउँछन् पनि

सुर्खेत, ४ असार (जागरण) । सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरमा रहेको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढ्दै र विभिन्न कृषि पेशा पनि गर्दै आएका छन् । विभिन्न जिल्लाबाट त्यहाँ पढ्न आएका विद्यार्थीहरु अहिले ऋण लिँदै व्यवसाय गरी राम्रो आम्दानी गर्न सफल भएका छन् । यसै विषयमा सहकर्मी मुना हमालले तयार पार्नुभएको एक रिपोर्ट ।

रिपोर्ट 

सामान्यतयाः विद्यालय भन्ने बित्तिकै पढ्ने र पढाउने स्थान बुझिन्छ । जहाँ विद्यार्थीहरु सैद्धान्तिक ज्ञान मात्रै आर्जन गर्छन् । तर सुर्खेतको बराहताल गाउँपालिकामा एउटा यस्तो विद्यालय छ जहाँका विद्यार्थीहरु पढ्ने मात्रै होईन काम गरेर आर्थिक जोहो पनि गर्ने गर्दछन् । विद्यालय हो, वराहतालको बड्डीचौरमा अवस्थित जनज्योति माध्यमिक विद्यालय । डोल्पाकी तिला थापा अहिले सोही विद्यालयमा १८ महिने भेटेरिनरी जेटिए पढ्दै हुनुहुन्छ । उहाँसहित उहाँका साथीहरु त्यहाँ पढ्नुमात्रै भएको छैन सबैजना मिलेर तरकारी खेती पनि गरिरहनुभएको छ । विद्यालयबाट प्रत्येकले पाँच/पाँच हजार ऋण लिएर उनीहरु तरकारी खेति गरिरहेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी पनि भईरहेको त छ नै पढ्नै काम गर्नुको आनन्द पनि छुट्टै किसीमको छ ।

विद्यालयमा आइएसीएजी दोस्रो वर्षमा अध्ययनरत नुवाकोटका अविन तमाङ पनि पढ्दै काम गर्दै हुनुहुन्छ । दिउँसोको समयमा विद्यालयमा पढ्ने र साँझ बिहानको समयमा काम गर्ने उहाँको दैनिकी नै हो । नुवाकोटबाट छात्रवृत्तिमा पढ्न आउनुभएका उहाँले बंगुर फर्म संचालन गरिरहनुभएको छ । उहाँको फर्ममा अहिले ३ वटा बंगुर छन् । अविनले कमाएको पैसा आफुलाई खर्च राखेर घरमा समेत पठाइदिनुहुन्छ ।

बाजुराका नरेश रोकाय र दैलेखका कर्णबहादुर बडुवाल २ रोपनी जग्गा भाडामा लिएर तरकारी खेति गरिरहेका छन् । सिजन अनुसारको तरकारी खेति गरिरहेको उनीहरुको भनाई छ । यस अघि च्याउँखेति गरेका थिए । यसरी सानोतिनो व्यवसायबाट पढाई खर्च धान्न र आफूलाई चाहिने अन्य खर्च पनि धान्न सहज भएको कर्णबहादुर बताउनुहुन्छ ।

पढ्दै काम गर्ने विद्यार्थीहरुलाई विना ब्याजमा ऋण दिने व्यवस्था पनि गरेको छ । विद्यालयको २५ विद्या आफ्नै जग्गा छ । विद्यालयले विद्यार्थीहरुका लागि गाउँमा जग्गा भाडामा व्यवस्था गरिदिएको छ । २ वटा डिपबोर्डिङ खनेर सिंचाईको व्यवस्था पनि गरेको छ । विद्यालयले आफै बाख्रा र गाइ फर्म पनि संचालन गरेको छ । एउटा विद्यार्थी बराबर पाँच हजार र राम्रो गर्दै गएपछि १ लाख ५० हजारसम्म ऋण विद्यालयले दिने गरेको छ । आगामी वर्षदेखि विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई अनिवार्य काम गर्ने व्यवस्था गरिने योजना पनि विद्यालयको छ । विद्यार्थीहरुले पढदै र काम गर्दै गर्दा उनीहरुमा उत्साह देखिएको बताउँनुहुन्छ विद्यालयका प्रध्यानाध्यापक नारायण सिग्देल ।।

अहिले यस विद्यालयमा भुकम्प प्रभावित ११ जिल्ला र कर्णालीलगायत अन्य प्रदेशसहित २६ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्छन् । पढ्दै र काम गर्दै सिकाई त छँदैछ साथमा आम्दानी पनि हुनु निकै नै ठुलो उपलब्धी हो । यसरी विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्दै आएको यस विद्यालयको काम अनुकरणीय छ । यसबाट अन्य विद्यालयले पनि गुणस्तरीय शिक्षा विद्यार्थीलाई प्रदान गर्न व्यवहारिक शिक्षामा ध्यान दिनुपर्छ भन्ने कुरा सिक्नैपर्ने देखिन्छ ।