काठमाडौं, २१ मंसिर (जागरण) । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सोमवार पत्रकार सम्मेलन गरेर नेपालमा दुई जनामा ओमिक्रोन पुष्टि भएको जानकारी गराएको हो ।
गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ’ओमिक्रोन’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जनाकारी दिनुभयो ।
पीसीआर नेगेटिभ रहेको रिपोर्ट र पूर्ण मात्रा खोप लगाएको प्रमाणसहित आएका ती विदेशी नागरिक र उनीसँग सम्पर्कमा पुगेका अर्का व्यक्तिलाई मङ्सिर ७ गते कोरोनासँग मिल्दो लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा हिजो आइतवार राति ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ ।
ओमिक्रोन पुष्टि भएकाले अब कोरोना पुष्टि हुनेहरूको कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन थालेको भन्दै मन्त्रालयले कोरोनाको सङ्क्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
साथै मन्त्रालयले खोप नलगाएकाहरूले नजिकको खोप केन्द्रमा गएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
यसैबिच, थप दुई सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय १७ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ०७ प्रतिशत अर्थात् दुई सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, थप तीन सय ५७ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख चार हजार नौ सय एक पुगेको छ । अहिले नेपालमा ६ हजार तीन सय ८६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।