बहुपती प्रथा अन्त्यको लागि छुट्टै कानुन निर्माण गर्नुपर्ने कर्णालीका सांसदहरुको माग

सुर्खेत,२२ मंसिर (जागरण) । कर्णाली प्रदेशका सांसदहरु कर्णालीका भोट समुदायमा रहदै आएको बहुपती प्रथा अन्त्यको लागि छुट्टै कानुन निर्माण गर्नुपर्ने माग गरेका छन ।
उनिहरुले समाजमा रहेका यस्ता कुरितिको अन्त्य नभएसम्म विकास अगाडी बढ्न नसक्ने भन्दै त्यसको लागि छुट्टै कानुन निर्माण गर्नुपर्ने बताएका हुन ।
डोल्पाबाट निर्वाचित सांसद बिर बहादुर शाहीले अहिले पनि भोट क्षेत्रमा बहुपति प्रथा रहेको भन्दै यसले गर्दा महिलाभन्दा धेरै पूरुषहरु हिंसामा पर्ने गरेको बताउनुभयो ।
उहाले यो प्रथाका कारण धेरै पूरुषहरु दमनमा परेको भन्दै महिला हिंसाको मात्र होइन पूरुषमाथी भएको हिंसा पनि अत्यधिक भएको र यसको लागि कानुन निर्माण गरेर चेतनाका कार्यक्रम संचालन गर्नुपर्ने कर्णाली रैबारसँग बताउनुभयो । उहाले भन्नुभयो, ‘कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा पछाडी छ । यहाँको भुगोल र रहनसहनअनु्सार कानुन बनाउन आवश्यक छ । जस्तै म एउटा उदाहरण दिन्छु मेरै जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने भोटे समुदायहरु नेपाली बोल्न जान्दैनन । त्यहा बहुपति प्रथा अहिले पनि कायम छ । यो प्रथाले जडा गाड्दा सामाजिक समस्या नै बनेको छ । यसको अन्त्यका लागि छुट्टै कानुन आवश्क छ । यस सन्दर्भमा मैले बारम्बार कुरा उठाएको छु । यहाँ विभिन्न समुदाय र वर्गहरु पुरानो सोचका कारण पछाडी परिरहेका छन । महिलाका समस्या, राउटे समुदायको लागि, दलितमाथी हुने थिछोमिचो र विभेद अन्त्यका लागि कानुन निर्माणको आवश्यकता छ । यस सम्बन्धीका केही विद्येयकहरु बनेका छन, त्यसमा व्यापक छलफल र बहस हुनुपर्छ । सबैभन्दा ठुलो समस्याको रुपमा रहेको बहुपति प्रथाको अन्त्य हुनुपर्छ । यस सम्बन्धी केही ड्राफ्ट त भएको छ । तर यसलाई व्यापक छलफलबाट संशोधन गरि कानुनको रुपमा लागु गर्नुपर्छ । बहुपति प्रथाका कारण त्यहाँ महिला हिंसा, पूरुषमाथीको हिंसा कायम छ । यस सम्बन्धी चेतनाको कार्यक्रमको लागि समेत बजेट छुट्याउनुपर्छ यो मेरो शुरुदेखिकै माग हो ।’
मुगु र हुम्ला जिल्लामा रहेका भोटे जातीहरुले नेपाली भाषा समेत बोल्न नसक्ने अवस्था रहेको भन्दै पछाडी पारिएका वर्गलाई अगाडी ल्याउन पहल हुनुपर्नेमा जोड दिनुभयो ।
यस सम्बन्धीका केही विद्येयकहरु बनेपनि संसदमा छलफल हुन नपाएको भन्दै सरकारसँग उहाले छलफल र बहसमा ल्याउन माग गर्नुभयो । फरक प्रसङ्गमा उहाले सरकार गठन भएको एक महिनाभन्दा धेरै भइसक्दा पनि सरकारले पूर्णता नपाउनु दुखत भएको बताउनुभयो ।
आफुहरु पनि सरकारमै सहभागी भएपनि शुरुवातमै सरकारले काम गर्ने संकेत नदेखाएको भन्दै उहाले भन्नुभयो, ‘सरकार गठन भएको एक महिनाभन्दा धेरै भइसक्दा पनि सरकारले पूर्णता पाउँदैन भने यो सरकारले के काम गर्ला अहिले नै शंका गर्नुपर्ने अवस्था आइसक्यो । प्रदेशमा कती धेरै समस्या छन । यस्तो बेलामा सरकार विस्तार गरेर काम त अगाडी बढ्नुपर्ने होनी । हामी पनि सरकारमा छौ तर सन्तुष्ट छैनौँ ।’