सुर्खेत, २४ मंसिर (जागरण) । कर्णाली प्रदेशका विभिन्न पसलबाट म्याद नाघेका वस्तुहरु बरामत गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण समिति सुर्खेतको नेतृत्वमा आज सुर्खेत वीरेन्द्रनगरका बजारमा गरेको अनुगमन क्रममा म्याद नाघेका वस्तुहरु बरामत गरिएको हो ।
बाङ्गेसिमल र भुरेली टोलका विभिन्न १२ वटा पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा विभिन्न पसलमा गरि म्याद नाघेका करिब १५ हजारभन्दा बढी मूल्य बराबरका खाद्य सामग्री बरामत गरिएको हो ।
म्याद नाघेका खाजा स्नेहा, दालमोठ, बच्चाले खाने चक्लेट, बच्चाले खाने कुल्फी, बिस्कुट, खुर्सानकिो धुलो, धनिया पाउडर लगायत सामग्री बरामत गरिएको छ ।
त्यसैगरी पेय पदार्थहरु पनि म्याद गुज्रेको भेटएकाले ति पदार्थपनि बरामत गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका माधव प्रसाद न्यौपानेले जानकारी दिनुभयो । बरामत सामग्रीहरुलाई नष्ट गरिने उहाले बताउनुभयो ।
व्यापारीहरुलाई म्याद गुज्रेका सामग्रीहरु विक्रि वितरण नगर्न पहिलोपटक चेतावनी दिइएको भन्दै आगामी दिनमा यस्तो भेटिए कानुन बमोजिम कारवाही हुने चेतावानी दिइएको छ ।
अनुगमन टोलिले खाद्य वस्तुहरु किन्दा म्याद गुज्रेको नगुज्रेको हेरेर मात्र खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।
न्यौपानेका अनुसार खाद्य, किराना र मदिराजन्य पदार्थहरु एकै ठाउँ राखेर विक्रि वितरण गरेको पाइएको छ ।
यसरी विक्रि वितरण गर्न नपाइने भन्दै उहाले तिनदिनभित्र छुट्टाछुट्टै ठाउँबाट विक्रि वितरण गर्न निर्देशन अनुगमन टोलिले दिएको जानकारी दिनुभयो ।
अनुगमनको क्रममा आवश्यक कागजातबिना पसलहरु संचालन गरिएको, नापतौल सामग्रीहरुको दर्ता नगरिएको भेटिएकाले तत्काल यी सबै पक्रिया पुरा गर्न निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा मूल्यमा एकरूपता ल्याउने, मूल्यसूची राख्ने, बिल लिने दिने व्यवस्था गर्ने, म्याद नाघेका सामग्री भएमा छुट्टै राखी नष्ट गर्न बारम्बार भनिएकाले कार्यान्वयनमा जान भनिएको छ ।
बाङ्गेसिमल क्षेत्रका १२ वटा पसलहरुको अनुगमन गरिएको थियो । उद्योग तथा उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका निर्मला बम, खाद्य तथा गुणस्तर कार्यालय सुर्खेतका सागरराज पोख्रेल, नगर प्रहरी कार्यालय सुर्खेतका नर बहादुर शाही, वीरेन्द्रनगर नगरपालिकाका यामलाल गिरी, नाप तौल कार्यालय सुर्खेतका जयप्रकाश नारायण चौधरी, नेपाल पत्रकार महासंघ सुर्खेतका टेकराज केसी सहितको टोलीले अनुगमन गरेको थियो ।