सुर्खेत, २५ मंसिर (जागरण) ।
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश स्तरीय अधिवेशन शनिबारदेखि सुर्खेतमा सुरु भएको छ ।
वीरेन्द्रनगर–६ स्थित सिटी हलमा सुरु प्रदेश अधिवेशनमा १० जिल्लाका करिब आठ सय जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
कर्णाली प्रदेशको नेतृत्वका लागि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका १६ जना केन्द्रीय सदस्यमध्ये १४ जना अध्यक्षको आकांक्षी देखिएका छन् । कर्णालीबाट केन्द्रीय सदस्य रहेका हालका अध्यक्ष राजकुमार शर्मा र सचिवमा रामदीप आचार्य, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, बिन्दमान विष्ट, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, झकबहादुर मल्ल, मायाप्रसाद शर्मा, नरेश भण्डारी, गजेन्द्र महत, विजय भण्डारी, सत्या पहाडी, र वसन्त शर्मा, नरबहादुर विष्टले अध्यक्ष हुने आंकाक्षा देखाएका हुन् । १६ केन्द्रीय सदस्यमध्ये अर्थमन्त्री रहेका जर्नादन शर्मा र शक्तिबहादुर बस्नेत प्रदेश अध्यक्षमा आंकाक्षी छैनन् । भोलीसम्म चल्ने अधिवेशनले प्रदेश कार्यसमिति चयन गर्नेछ । सात वटै प्रदेशमा शनिबार एकै पटक प्रदेश अधिवेशन सुरु भएको छ । अधिवेशनको अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।