कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न सतर्कता अपनाउँदै स्थानीय सरकार

भावना राना ।
सुर्खेत, २६ मंसिर (जागरण) । कर्णालीका स्थानीय सरकारहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न सतर्कता अपनाएका छन ।
कोरोनाको नयाँ भेरियन्ट फेरी चुनौती बन्न सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन थालेका हुन ।
स्थानीय सरकारहरुले अहिले कोरोना संक्रमण नदेखिएपनि जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाउन नागरिकहरुलाई सचेत बनाएका छन ।
स्वास्थ्य मापदण्डसँगै कोरोनाविरुद्धको खोप अभियानलाई पनि पालिकाहरुले सँगसँगै अगाडी बढाएका छन । खोप नलागाएका नागरिहरुलाई खोप लगाउन समेत आग्रह जनप्रतिनिधिहरुले गरेका छन ।
सुर्खेतको लेकवेशी नगरपालिकाले पालिकाभित्रका करिब ८० प्रतिशत नागरिकहरुलाई खोप दिइएको भन्दै कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै स्वास्थ्य सतर्कता अपनाउन थालिएको जानकारी दिएको छ ।
नगरप्रमुख गगन सिह सुनारले कोरोना जोखिम फेरी बढ्न सक्ने भन्दै कार्यपालिका बैठकबाट नै विशेष गरेर विद्यालयमा स्वास्थ्य सतर्कता अपाउनेगरी निर्णय गरिएको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यस्तै, सिम्ता गाउँपालिकाले पनि कोरोनाको नयाँ भेरियन्टबाट बच्न स्वास्थयका मापदण्ड अपनाउन नागरिकलाई आग्रह गरेको छ ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै नगरपालिकाबाट कोरोना व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
सल्यानको सारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले पनि कोरोनाको जोखिम कायम रहेकाले आफ्ना जनताको लागि विभिन्न सचेतनाका कार्यक्रमहरु अहिले पनि कायम रहेको बताउनुभयो ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका धेरै देशमा फैलिएको छ भने नेपालमा समेत केही व्यक्तीलाई यो भेरियन्ट पुष्टी भइसकेको छ । अन्य व्यक्तीहरुलाई भ्याक्सिन दिइएपनि बालबालिकाहरु उच्च जोखिममा पर्न सक्ने विज्ञहरुले बताउँदै आएका छन । यस सन्दर्भमा सतर्क हुनुपर्ने विज्ञहरुको भनाई छ ।
यसैबिच, नेपालमा थप दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार एक सय ७८ जनाको नमूना परीक्षण गर्दा दुई दशमलव ५७ प्रतिशत अर्थात दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप तीन सय सात जना कोरोना मुक्त भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६ हजार पाँच सय ४४ जना पुगेको छ ।
अहिले नेपालमा पाँच हजार आठ सय ८३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ६६ हजार नौ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
नेपालमा अहिलेसम्म दुई करोड पाँच लाख एक हजार आठ सय १० मात्रा कोरोना विरुद्धको खोप प्रयोग भएकोमा ९२ लाख ४१ हजार दुई सय ६१ जनाले पूर्ण मात्रा र एक करोड १२ लाख ६० हजार पाँच सय ४९ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।