घरेलु हिंसा गरेको कसुरमा दैलेखमा एक युवकलाई दुई वर्ष कैद कैदको सजाय

अमर सुनार ।
दैलेख, २६ मंसिर (जागरण) । श्रीमतिको शरीरमा तातो पानी र अगुल्टोले पोलेको कसूरमा दैलेखमा एक युवकलाई दैलेख जिल्ला अदालतले दुई वर्ष कैद, २० हजार जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र १२ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।
भैरबी गाउँपालिका–५ गौरीसल्ला २६ वर्षीय पति दीपक नेपालीलाई आफ्नी श्रीमति २६ वर्षीया हस्तना नेपालीलाई पटक पटकको घरेलु हिंसापछि ज्यानै जानसक्नेसम्मको कसूर ठहर गर्दै उक्त फैसला भएको हो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
०७८ साउन २१ गते राति दीपकले आफूलाई देउता आएको बाहनामा हस्तना नेपालीको शरीरमा तातो पानी र अगुल्टोले पोलेको घटनामा जिल्ला प्रहरी कार्यालय दैलेखमा साउन २२ गते पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले साउन २२ गते नै पक्राउ गरेको थियो ।
दैलेख जिल्ला अस्पतालमा तीन साता उपचार गरिएको पीडितको स्वास्थ्य अवस्था र निरन्तर घरेलु हिंसा हुँदै शरीर पोल्नेसम्मको घटना गराएको भन्ने प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा ०७८ भदौ १६ गते ज्यानमार्ने उद्योगको अभियोग पेश गरेको थियो ।
अभियोग सम्वन्धमा भदौ १६ गते नै भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो । आज भएको फैसला बारे पीडितको राहत र न्याय अनुभूतीमा राम्रो काम गरेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले टिप्पणी गरे ।