जुम्ला २६ मंसिर ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आजदेखि एमबिबीएसको औपचारिक शुभारम्भ हुँदैछ ।शुभारम्भका लागि राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आउनुहुने भएकाे छ ।
सो अवसरमा राष्ट्रपतिले ७६ करोड रुपैयाँमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लाले पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रपति भण्डारीको जुम्ला आउने कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।
रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपति भण्डारी ठिक ११ बजे जुम्ला पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला पुुगेका छन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडा र शिक्षामन्त्री देवेन्द्र पौडेल आउने भने पनि व्यस्तताका कारण नआउने भएका छन् ।
राष्ट्रिपति कार्यालय र प्रतिष्ठानका बीच आपसी समन्वयमा कार्यक्रम तालिका बनेको हो । बिहान ११ देखि सवा ११ बजेसम्म एकेडेमिक ब्लकको शिलान्यास हुनेछ । त्यसलगत्तै एमबिबीएसलगायतको शैक्षिक कार्यक्रमको शिलापत्र अनावरण हुने रजिस्ट्रार महतले बताउनुभयाे ।
एमबिबीएसमा १९, बिपीएचमा आठ, बिएनएसमा १६, बिफार्मामा आठ र बिएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ । पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पुर्याउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ ।
अहिले स्नातकोत्तर तहको एमडीएमएस कार्यक्रमलगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । एमबिबीएस, बिएनएस, बिफार्मालगायतका सङ्कायहरु सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ ।