मान बहादुर कुँवर ।
जुम्ला, २७ मंसिर (रेडियो खुला आकाश) । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष कार्यक्रमकाबिच कर्णालीमै पहिलोपटक जुम्लामा एमविविएस लगायतका शैक्ष्कि कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
एमविविएस शिक्षाको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले ग्रामीण क्षेत्रको स्वास्थ्य शिक्षा र अनुसन्धानमा कर्णाली प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
उहाले, रोग र भोकको उपनाम पाएको कर्णालीले स्वास्थ्य क्षेत्रमा फड्को मारेको भन्दै देशलाई दक्ष जनशक्ति दिने सामर्थ्यको विकास भएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले विशेषज्ञ सेवासहितको उपचार र अनुसन्धान सुरु भएकोले अब जटिल रोगको उपचार जुम्लामै सम्भव भएको बताउनुभयो ।
फरक प्रसंङ्गमा राष्ट्रपति भण्डारीले जल जमिन, जंगल र जडिबुटी नै समृद्ध कर्णाली को आधार भएको बताउनुभयो ।
भौगोलिक रुपमा विकट भएतापनि बुहमुल्य जडिबुटी, शिलाजित, विश्व प्रख्यात मार्सी चामल, स्याउ, सिमि र ओखर जस्ता अर्गानिक कृषि उपजको धनी भएको बताउदै उहाले यसबाट मनग्य नाफा लिन सकिने उहाँको भनाई छ ।
स्वर्गकी अप्सरा उपनाम पाएको नेपालकै ठुलो रारा ताल, पनि यही प्रदेशमै पर्ने भएकाले पर्यटकीय हिसाबले समेत आकर्षित रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिशु तथा मातृ मृत्युदर घटाई प्रसुती हुन नसकेका महिलालाई उद्वार गर्नु पर्ने राज्यको भार समेत घटाउने उहाले बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले झाडा पखाला, हैजा जस्ता रोगको प्रकोपले सताउने कर्णाली मा प्रतिष्ठानले यो समस्या बाट मुक्ति दिएको बताउनुभयो ।
७६ करोड लागतमा बन्न लागेको क्वार्टर र एकेडेमी भवनको शिलान्यास पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।
राष्ट्रपतिले प्रतिष्ठान स्थापनामा पहल गर्ने र जग्गादातालाइ सम्मान समेत गर्नुभयो ।
चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबिबिएसका लागि २० वटा कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन् ।
बि फर्मामा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएसतर्फ १६ जना, एमबिबिएसतर्फ ८ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।