भावना राना ।
सुर्खेत, २८ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलन नदिन प्रदेश प्रवेश नाकाहरुमा स्वास्थ्य जाँच र कडाई गर्न शुरु गरिएको बताएको छ ।
ओमिक्रोन भाइरस छिमेकी देशसहित नेपालमा पनि पुष्टी भएपछि कर्णाली प्रदेशले सतर्कता अपनाएको हो ।
बाहिरबाट प्रदेश भित्रिने नागरिकहरुलाई सिमा नाकामा चेकजाँच गरेर आउन दिइएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
बबै, कुइने, कपुरकोट नाकाहरुमा स्वास्थ्यकर्मी परिचालन गरिएको कर्णाली निर्देशनालयका निर्देशक रबिन खड्काले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
सकांशपद व्यक्तिहरुलाई चेकजाँच गरि स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको र त्यस क्षेत्रमा स्वास्थ्यकर्मीहरु खटाइएको उहाले जानकारी दिनुभयो ।
यस्तै यसको संक्रमण फैलिन सक्ने तर्फ सचेत हुँदै अस्पतालहरुमा विगतको जस्तो बेड, अक्सिजन, भेन्टीलेटर, आइसोलेशन, आइसियुको समस्या हुन नदिनेगरी बन्दो बस्तो गरिएको खड्काले बताउनु भयो ।
ओमिक्रोन फैलन नदिन सबै नागरिकहरुले जनस्वास्थ्यका मापदण्डको प्रयोग गर्नु पर्नेमा उहाँको भनाइ छ ।
यस्तै, कर्णाली प्रदेशभर लक्षित वर्गका नौ लाखभन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार लक्षित उमेर समूहका नौ लाख ८२ हजार तीन सय ८३ जनाले खोप लगाएका हुन् ।
अब दुई लाख जनसंख्यालाई मात्र खोप दिन बाँकी छ । प्रदेशको १८ लाख ३४ हजार जनसंख्यामध्ये १८ वर्षमाथिका १२ लाख जनालाई खोप लगाउनुपर्ने हुन्छ । कर्णालीमा हालसम्म कोरोनाविरुद्धकोे खोपको पहिलो मात्रा लिनेको संख्या पाँच लाख ९० हजार आठ सय ८३ रहेको छ ।
दोस्रो डोज अर्थात् पूर्णखोप लगाउनको संख्या तीन लाख ९१ हजार पाँच सय पुगेको निर्देशनालयले जनाएको छ ।