सुर्खेत, २९ मंसिर (जागरण) । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सम्मेलनमा चरम असन्तुष्टि देखिएको छ । चार दिनसम्म जारी सम्मेलनमा प्रदेश कमिटीको पदाधिकारी विना सदस्यहरुको नाम मात्रै घोषणा गरिएको छ । तर २११ सदस्यहरुको नाम घोषणा गरे लगत्तै केही प्रतिनिधिहरुले सदस्यमा नाम नपरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
केन्द्रीय सदस्य प्रदेश कमिटीको पदेन सदस्य रहने तर प्रदेश पदाधिकारीमा बस्न नमिल्ने प्रावधान तय गरेर सदस्यहरुको नाम घोषणा गरिएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका तत्कालिन सचिव रामदिप आचार्यले बताउनुभयो ।
प्रदेश सदस्यहरुको नामावली घोषणा गर्नुपूर्व यसअघिको प्रदेश कमिटी भंग गरिएको थियो ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाका केही प्रतिनिधिहरुले असन्तुष्टि जनाएपछि बन्द सत्रमा नारावाजी गरेका थिए ।
असन्तुष्टी जनाएका प्रतिनिधिहरुको माग सम्बोन्धन गर्न छलफल भइरहेपनि एकलौटी र एकपक्षिय ढंगले नेतृत्व अघि बढेपछि विरोध कायमै रहने आवाज उठेको छ ।
यस्तै प्रदेश अध्यक्षमा पनि आ–आफ्नै अडानका नछोडेपछि सम्मेलनले नयाँ नेतृत्व दिन सकेको छैन ।
कर्णालीमा अहिलेसम्म अध्यक्षका लागि तीन जनाको नाम चर्चामा छ । प्रदेश अध्यक्षका लागि महेन्द्रबहादुर शाही, वर्तमान अध्यक्ष राजकुमार शर्मा र विमला केसी बलिया दाबेदार देखिएका छन ।
तर, केन्द्रले जे भन्छ त्यही हुने एक नेताले बताए । सकेसम्म पुरानो कमिटीलाई नै निरन्तरता दिने कि भन्ने बारेमा पनि नेताहरु बहस गरिरहेका छन् ।